![]()
काठमाडौैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैले सर्वसुलभ र सहज ढंगले देशका सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनु पर्ने बताउनु भएको छ ।
वीर अस्पतालको १२८औँ वार्षिकोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरु भारतलगायत तेस्रो मुलुकमा जाने परिपाटी अन्त्य गरी स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।
नेपालकै पुरानो अग्रणी स्वास्थ्य संस्थाका रुपमा रहेको वीर अस्पतालले सो अनुरुपको सेवा र सुविधा प्रदान गर्न अहम् भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले सरकारले अस्पताललाई विशेषज्ञ केन्द्रका रूपमा विकास गरी अझ विश्वासिलो बनाउन पर्याप्त बजेटसहित अन्य आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले देशभरका जनताको विश्वासिलो अस्पताल भएकाले संविधानमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी हकलाई कार्यान्वयन गर्न भूमिका खेल्ने बताउनुभयो ।
पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीरमा भन्दा राम्रो जनशक्ति अन्य अस्पतालमा नभएकाले यहाँको उपचार उत्कृष्ट हुनुपर्ने धारणा राख्नुभयो ।
विसं १९४७ साउन १२ गते १५ शैयाबाट सञ्चालनमा ल्याएको अस्पताल हाल ४६० शैयामा विस्तार भइ पूर्ण सरकारी स्वामित्वमा रहेको छ ।


