![]()
काठमाडौ,१० साउन ।
कांग्रेस नेतृ सुजाता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनः अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डालाई बकवास भनेकी छन् । कोइरालाले फेरि मुलुकलाई अस्थिरतातर्फ धकेल्न दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव अघि सारेको आरोप लगाएकी छन् । उनले भनिन्ः‘ प्रधानमन्त्रीय पद्धती नै उचित छ, तल्लो सदनमा समानुपातिक हुनुहुँदैन थियो,माओवादीले जिद्दि गरेर राखिएको हो, त्यसैले अहिले आएर अन्ट सन्ट कुरा गर्नुहुँदैन्।’
माओवादी केन्द्रले आफ्नो विस्तारित बैठकबाट पुनः प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको शासकीय स्वरुपको मुद्दा अघि सार्ने निर्णय गरेको थियो । कोइरालाले हालै कोइराला परिवारका नेताहरु क्रमशः महामन्त्री शशांक कोइराला, शेखर कोइराला र आफूवीचको भेटघाट पार्टीलाई कसरी मजबुद बनाउने र एकतावद्ध गर्ने भन्नेमा मात्रै केन्द्रित रहेको समेत उनले स्पष्ट पारिन् । उनले भनिन्ः‘हामीलाई पार्टीबारे चिन्ता छ, कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्ने नै हाम्रो मुल चिन्ता हो, पार्टी एकता नै हाम्रो जोड हो, आफूहरुको लञ्च तथा डिनर नियमित भइरहेकोले यसलाई आश्चर्यको विषय मान्नुपर्ने आवश्यक छैन् ।’
कोइरालाले पार्टीभित्रको ६०–४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् । उनले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्ः‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ, त्यसैले पार्टीभित्र अब सक्षम, इमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’


