Breaking News.... EverestOnlineKhabar
June 25, 2026

युवक अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

Loading

धनुषा,१० साउन ।
युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ वर्षीय एसानुल राइन र १९ वर्षीय आदम नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कमलेश्वरलाई शुक्रवार धनुषा ठाडिझिझा महिनाथपुर रेल्वे स्टेशनबाट चारजनाको समूहले डर धम्की दिई मोटरसाइकलमा बसाएर जनकपुरस्थित भ्रमपुरा चोकमा ल्याई आदाम नदाफको कोठामा एक दिन बन्धक बनाएर राखेको थियो ।
त्यसपछि अपहरणकारीले शनिबार दिउँसो ४ बजे भ्रमपुरा चोकबाट जनकपुर उपमहानगरपालिका वडा नं ९ बस्ने रामचन्द्र दासको घरमा लगी बन्धक बनाएर उनलाई कुटपिट गरेको तथा चक्कु, फलाम काट्ने ह्याक्सो ब्लेटलगायतका धारिलो हतियार देखाई मारेर फालिदिन्छौँ भनी डर, धाकधम्की दिएर कमलेश्वरलाई आफन्तसँग फोनमा कुरा गराएर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ ।
अपहरित कमलेश्वर आइतबार बिहान ३ बजेतिर बन्धक बनाएको कोठाको भेन्टिलेसनबाट निस्केर भाग्न सफल भएका थिए । भागेर घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेका थिए । घटनामा संलग्न हुनेहरुको खोजतलासका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
उनीहरुको साथबाट चक्कु एक थान, फलामको ह्याक्सो ब्लेड एक थान, मोबाइल तीन थान बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको जिप्रका धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed