![]()
काठमाडौ,४ साउन ।
सत्तारुढ दलको एक मुख्य घटक माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहस सुरु भएको छ । नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने गरी आफ्नो दलको गोलाकारभित्र हसिया हथौडा चिह्न छापिदा मतदाताले मत चिह्नमा अल्मलिएको भन्दै जिल्ला इन्चार्जहरुले यस्तो माग गरेका हुन् । उनीहरुले मतदाता शिक्षाका क्रममा चुनाव चिह्नबारे प्रभावकारी रुपमा बताउन नसकेको भन्दै चिह्न नै बदल्नुपर्ने माग गरे ।
‘कम्युनिस्ट पार्टीको चिह्न भएकाले हामीले हसिया हथौडा छाड्न त नमिल्ने हो, तर मत परिणामको अन्तर हेर्दा २५–३० स्थानीय तह चिह्नकै कारण हारेको देखिन आयो’ माओवादी केन्द्रका सचिवालयको विस्तारित बैठकको दोस्रो दिन जिल्ला इन्चार्जहरुले नेकपा मालेले सायद आफ्नो चिह्न छाड्न नमान्ला, त्यसैले हाम्रोबारेमा सोच्ने हो कि भन्ने बहस उठेको छ ।’
नेता मणि थापाका अनुसार केही जिल्ला इन्चार्जले भने कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय चिह्न बदल्दा समर्थकहरुमा झन् नकारात्मक सन्देश जान सक्ने भन्दै बरु पर्याप्त मतदाता शिक्षा दिलाउन पार्टी पंक्ति परिचालित हुनुपर्ने फरक मत पेश गरे । बैठकका सहभागीले सीपी मैनाली नेतृत्वको माले पार्टीको संगठन, उम्मेदवार हुँदै नभएका ठाउमा समेत हसिया तारामा भोट झर्नुले ती भोट माओवादीकै भएको दाबी गर्दै यसबारे संवेदनशील हुन नेतृत्वलाई आग्रह गरेका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
मंगलबार २५ जिल्ला इन्चार्जले मात्रै बोल्ने क्रम सकिएकाले सबैको पालो सकिएपछि दाहालले जवाफ दिने पार्टी नेताहरुले जानकारी दिए । ‘असमझदारी भएका ठाउमा केन्द्रीय हस्तक्षेप पुगेको देखिएन । जित्न सक्ने ठानिएका ठाउमा समेत केन्द्रीय नेताहरुको परिचालन ढिलोगरी भयो । साधन स्रोत परिचालन राम्रो नहुदा पराजय भएको समीक्षा छ ।’ जिल्ला इन्चार्जहरुले माओवादी केन्द्रको सरकार छ भन्ने अनुभूति आफ्ना मन्त्रीहरुले दिलाउन नसकेको आरोप लगाए । उनीहरुले झन्डै ५ हजार सदस्यीय केन्द्रीय समिति र त्यसै अनुरुप मातहतका भद्दा संगठनलाई जनताले विश्वास नगरेको भन्दै तुरुन्तै चुस्त संगठन बनाउन माग गरे ।


