Breaking News.... EverestOnlineKhabar
May 12, 2026

प्रधानमन्त्री देउवाको चेतावनीयुक्त निर्देशनपछि सडकका खाल्डा पुर्न थालियो

Loading

काठमाडौ,४ साउन ।
१५ दिनमा उपत्यकाका सडकको खाल्डा पुरिसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सोमबारदेखि सरोकारवाला निकायले काम थालेका छन् । प्रधानमन्त्री देउवाले आइतबार काठमाडौंलाई राजधानी भन्नै लाजमर्दो भएको भन्दै सडकका खाल्डा १५ दिनभित्र पुरेर जोखिम हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि सडकसँग प्रत्यक्ष सरोकार राख्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक योजना तथा पूर्वाधार मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालयले खाल्डा पुर्ने काम थालेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । कार्यालयले यी तीन मन्त्रालयका सचिवलाई सोमबार निर्देशन दिएसँगै खाल्डा पुर्ने काम सुरु भएको हो ।
उपत्यकाका आठ मिटरभन्दा कम चौडा सडक स्थानीय तह र आठ मिटरभन्दा बढी फराकिला सडक विभागको जिम्मामा छन् । उपत्यकामा मेलम्ची खानेपानीले पाइप बिछ्याइरहेको हुँदा केही सडकको मर्मत आयोजना कार्यान्वयन निर्देशनालय (मेलम्ची आयोजना–२) ले गर्नुपर्ने हुन्छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले निर्देशनालय, सडक विभाग र स्थानीय तहको जिम्मेवारीमा रहेका सडक छुट्ट्याएर मर्मत थालेको बताए । रातदिन खाल्डा पुर्ने काम गरिरहेको उनले दाबी गरे । सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले प्रधानमन्त्रीको निर्देशनअनुसार खाल्डा पुर्ने काम भइरहेको बताए । एकदुई दिनभित्रै कामको परिणाम देखिने उनले दाबी गरे । सिग्देलका अनुसार कम खर्चमा आफ्नो जिम्मेवारीभित्र रहेर विभागले काम थालिसकेको छ ।
विभाग, निर्देशनालय र स्थानीय तहले काम गर्ने सडक भागबन्डा गरेर काम थालिसकेको सिग्देलले बताए । मेलम्ची आयोजनाको जिम्मामा रहेका सडकको मर्मत आयोजना कार्यान्वयन निर्देशनालयले नगरे त्यसैअनुसारको प्रतिवेदन बुझाउने उनको भनाइ छ । त्यस्तै काठमाडौं महानगरपालिकाले पनि आठ मिटरभन्दा कम चौडाइ भएका भित्री सडकका खाल्डा पुर्ने कार्य थालेको जनाएको छ । उनका अनुसार महानगरपालिकाले सडकछेउका नाली ढाक्ने योजना अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.