![]()
काठमाडौ,४ साउन ।
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका विषयमा यसअघि गरेको निर्णय सच्याएको छ। आयोगले गत असार २२ गते गरेको जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्ने निर्णय सच्याउँदै मंगलबार सबै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।
साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्न सुरु गरेको आयोगले चौतर्फी विरोध र दलहरुको दवावपछि काम थालेको तीन दिनमा निर्णय सच्याएको हो। यसअघि घोषणा गरेको १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन कार्यलाई आयोगले निरन्तर दर्ताको रुपमा निर्वाचनको मिति घोषणा नहुँदासम्मका लागि जारी राख्ने निर्णय गरेको छ।
गाउँपालिका तथा नगरपालिकामा भने साउन १६ गते देखि मतदाता नामावली संकलन सुरु गरी साउन मसान्तसम जारी राख्ने निर्णय गरेको छ। आयोगले भनेको छः‘आम जनताको चाहना र राजनीतिक दलको आग्रह बमोजिम आयोगले नयाँ निर्णय गरेको हो, अब ७४४ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गरिने छ ।’
आयोगले साउन १ देखि १५ सम्मको अवधीमा नदिएको बाह्य जिल्ला दर्ता सुविधा पनि मतदातालाई दिने निर्णय गरेको छ। आयोगले सबै निर्वाचन कार्यालयहरुलाई बाह्य जिल्ला दर्ता खुल्ला गर्न निर्देशन दिएको छ। आयोगको निर्णयसँगै अब देशभरबाट काठमाडौं आएका तथा अर्को जिल्ला रहेका मतदाताले आफू बसेका ठाउँबाट नै मतदाना नामावलीमा नाम लेखाउन सक्ने छन्।


