Breaking News.... EverestOnlineKhabar
September 12, 2026

निर्वाचन आयुक्तलाई १५ करोडको गाडी…….?

Loading

काठमाडौ,३१ असार ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ । तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान गरिएको छ ।
आयोगले प्रमुख आयुक्त र चार आयुक्तका लागि १५ करोडका बिलासी गाडी किन्ने प्रक्रिया अघि बढाएको हो । प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई सरुवा गरी कामुसचिवमा महेश्वर न्यौपानेलाई आयोगमा ल्याइएपछि गाडी खरिद प्रक्रिया सुरु गरिएको छ ।
आयोगले शुक्रबार एक दैनिकमा विज्ञापन प्रकाशन गरी ५ वटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको छ । प्रत्येक आयुक्तलाई एक करोडसम्मको गाडी खरिदका लागि १९ साउनभित्र आवेदन दिन आयोगले टेन्डर आह्वान गरेको हो ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले भनेः‘गाडी पुराना भएकाले धेरै इन्धन खर्च हुने र जिल्ला भ्रमणमा जान कठिन हुने भएकाले नयाँ गाडी खरिद गर्न लागिएको हो ।’
तर, तत्कालीन आयोग सचिव मैनालीले भारत सरकारले ३७ वटा नयाँ गाडी दिइसकेकाले नयाँ गाडी खरिद गर्न नहुने अडान राखेका थिए । त्यतिबेला गाडीलाई पनि निर्वाचन सामग्रीअन्तर्गत नै राखेर छोटो विधिबाट खरिद प्रक्रिया अवलम्बन गर्न खोजिएपछि मैनालीले आपत्ति जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.