![]()
काठमाडौ,३१ असार ।
पार्टीभित्र एक्लिँदै गएका अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ। एकीकरणपूर्वको अध्यक्षसमेत रहेका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले एकतर्फी रूपमा भएको मनोनयनलाई षड्यन्त्रको संज्ञा दिएका छन् भने उनकै नेतृत्वमा अन्य प्रभावशाली नेताहरू थापाको प्रतिकारमा जुटेका छन्। परिआए थापालाई अध्यक्ष पदबाट हटाउने रणनीतिमा नेताहरुलागेका छन्।
थापाले एकपक्षीय रूपमा केन्द्रीय सदस्य मनोनयन गरेपछि राणाले एकीकृत पार्टी सञ्चालनका लागि षड्यन्त्र होइन, राजनीति गर्न चुनौती दिएका छन्। राणाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्ः‘ पहिलो र दोस्रो स्थानीय तहको चुनावको समीक्षा गर्न, २ नं. प्रदेशमा हुने स्थानीय तहको निर्वाचन रणनीति तय गर्न र समसामयिक विषयमा छलफल गरी निर्णय लिन ४ साउनमा केन्द्रीय समितिको बैठक डाकिसकेको अवस्थामा केन्द्रीय तहका नेताहरूलाई सुइँकोसम्म नदिई एक्कासि केन्द्रीय समिति विस्तार गरिएको घटनाले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको अस्तित्व र उपस्थितिलाई नकारेको छ। राप्रपालाई अध्यक्षको एकल बिर्तामा रूपान्तरण गरिएको सन्देश प्रवाहित गराइएको छ। म यस कार्य र प्रवृत्तिको घोर निन्दा र भत्र्सना गर्दछु ।’ राणाले एकांगी रूपमा गरिएको निर्णय तत्काल फिर्ता लिएर पार्टीलाई विग्रह तथा प्रत्युत्पादक आन्तरिक द्वन्द्वमा फस्नबाट बचाउन आग्रह गरेका छन्।


