![]()
एजेन्सी,२८ असार ।
अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन मङ्गलबार अरब गएका छन् ।
यसअघि अमेरिकी विदेशमन्त्री टिलरसन संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटों) सँग आवद्ध प्रमुख सहगोगी टर्कीसँग यसअघि गुमेको विश्वासलाई पुनःस्थापना गर्न भनी दुई दिन टर्की गएका थिए । टर्कीमा उहाँले राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग इस्तानवुलमा घण्टौँ लामो कुराकानी गर्नुका साथै उच्चपदस्थ अधिकारीसँग भेट गर्नुभएको थियो ।
साउदी अरब, संयुक्त अरब इमिरेट्स , बहराइन र इजिप्टका विदेशमन्त्री भेला हुने उक्त स्थानमा अमेरिकी विदेशमन्त्री टिलरसनले कतारसँगको विवाद टुङ्ग्याउन विशेष पहल गर्ने, साउदी अरबबाट जारी एक विज्ञप्तिमा जनाइएको छ । खाडी क्षेत्रका केही मुलकले साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनद्वारा कतारले आतङ्कवादलाई सघाएको आरोप लगाउँदै गत महिनादेखि कतारसँगको कूटनीतिक सम्बन्ध तथा हवाई, जमिन तथा जलमार्ग कतारसँग विच्छेद गरेको घोषणा गरेका थिए ।


