Breaking News.... EverestOnlineKhabar
May 12, 2026

राजीनामै नगरी किन एडिबीको जागिर खान गए मुख्यसचिव सुवेदी….?

Loading

काठमाडौ,२८ असार ।
मुख्यसचिव सोमलाल सुवेदी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मंगलबारदेखि बिदा भएका छन् । पदबाट राजीनामै नदिई उनी साउन १ देखि एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशकको कार्यभार सम्हाल्न बिदावारी भएका हुन् । विभिन्न मन्त्रालय र कार्यालयका सचिव र उच्च अधिकारीले मंगलबार सिंहदरबारमा कार्यक्रम नै गरी मुख्यसचिव सुवेदीलाई बिदा गरे ।
सरकारले सुवेदीलाई तीन महिनाअघि नै एडीबीको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । एडीबीको सहमति आएपछि उनी साउन १ देखि हाजिर हुने गरी त्यता जान लागेका हुन् । सुवेदीले एडीबीको मुख्यालय फिलिपिन्सको मनिलामा रहेर कार्य गर्नेछन् ।
कार्यालयबाट बिदा भए पनि सुवेदीले मुख्यसचिव पदबाट राजीनामा दिएका छैनन् । उनी काज बिदा लिएर एडीबी जान लागेका हुन् । उनको मुख्यसचिव पद अतिरिक्त समूहमा राखिने जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दियो । २०७२ साउन २० मा मुख्यसचिवमा बढुवा भएका सुवेदीको कार्यकाल २०७५ साउन २० सम्म कायम रहनेछ । उनको राजीनामा नआए पनि मन्त्रिपरिषद्ले मुख्यसचिवको अर्को पद सिर्जना गरी वरिष्ठ सचिवहरूमध्येबाट जिम्मेवारी दिन सक्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीले नयाँ मुख्यसचिव नियुक्त नभएसम्म निमित्त मुख्यसचिवका रूपमा काम गर्नेछन् ।
मुख्यसचिवको दौडमा सचिवहरू शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदी, राजेन्द्रकिशोर क्षत्री, लोकदर्शन रेग्मीलगायत छन् । सबैभन्दा वरिष्ठ सचिव धनबहादुर तामाङ पनि मंगलबारदेखि बिदा बसेका छन् । उनको पाँचवर्षे सचिव कार्यकाल आज सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.