![]()
काठमाडौ,२८ असार ।
दुई तिहाइ मत नपुग्ने भएपछि सरकारले संविधान संशोधन विधेयकलाई तत्काल मतदानमा नलैजाने निर्णय गरेको छ । मंगलबार बिहान एमालेसँगको बैठकपछि सरकार यस्तो निर्णयमा पुगेको हो । सरकारको यस्तो निर्णयप्रति आक्रोशित हुँदै साँझ राजपा नेताहरू बालुवाटार गएका थिए । तर सत्तापक्षले आफैं विवश रहेको बताएपछि फर्कंदा उनीहरूको स्वर मत्थर भएको थियो । मंगलबार बिहान एमालेसँग वार्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुई तिहाइ नपुग्ने भएपछि अब संविधान संशोधनको सट्टा मन्त्रिपरिषद् विस्तार पहिले हुने बताएका थिए । देउवाको यस्तो भनाइ सुनेर क्रुद्ध राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोलेः‘सरकारले आफूहरूलाई प्रक्रियाभन्दा बाहिर राख्न अनेक निहुँ बनाइरहेको छ ।’ तर बालुवाटारबाट फर्कंदा उनै महतोले भनेः‘संशोधन पारित गर्न सरकारले प्रयास जारी राख्छौं भनेको छ, हामीले पनि ठिकै छ, हामी पनि आफ्नोतर्फबाट प्रयास गरौंला भनेर फर्कियौं, आज सामान्य कुराकानी भएको छ ।’
राजपाका नेताहरूले यसअघि संविधान संशोधन पारित हुने गरी तत्काल अघि बढाउन सत्तारूढ शीर्ष नेताहरूलाई दबाब दिँदै आएका थिए । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको असहयोग नै कारक देखाएपछि महतो मात्रै होइन, अन्य राजपा नेताहरूले उल्टै ढाडस दिएका थिए । तीन दिनअघि बालुवाटारमा उही सहमति गरी फर्केका सत्ता घटक र राजपा नेताहरूबीचको वार्ता मंगलबार पनि ठोस नतिजामुखी रहेन । सरकार प्रमुख प्रतिपक्षी एमालेसमेतको समर्थनमा संविधान संशोधन गर्ने प्रयास सम्भव नभएपछि ऊ बाहेक पनि दुई तिहाइ पुर्याउने कसरतमा जुटेको थियो । तर, राप्रपा नै संशोधनको पक्षमा एकढिक्का नहुने थाहा पाएपछि सरकारले संविधान संशोधन विधेयक तत्काल स्थगन गर्ने निष्कर्षमा पुगेको हो । यद्यपि बेलुकी राजपासित देउवाले २–४ दिनभित्रै विधेयक टुंग्याउन प्रयास गर्ने आश्वासन दिएर फर्काउन सफल भए ।
संसद्मा राप्रपाको ३७ सिट छ । राप्रपा एकढिक्का हुँदा दुई तिहाइ पुग्न ४ सांसद नपुग्ने सरकार पक्षको दाबी थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राप्रपा नेताहरूसंँग पटक–पटक गरेको संवादका आधारमा सरकार दुई तिहाइ मत पुर्याउन नसक्ने निष्कर्षमा पुगेको हो ।


