![]()
काठमाडौ,२६ असार ।
मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरू भेटिन छाडेका छन्। एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ। विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरू पनि विदेश भ्रमणमा जाने क्रम बढेको छ। असार मसान्तमा मन्त्रालयमा विभिन्न शीर्षकमा बाँकी रहेको बजेट सक्न उच्चपदस्थ कर्मचारी विदेश भ्रमणमा जाने गरेका हुन्।
प्रधानमन्त्री कार्यालयका एक सचिव र सहसचिव यतिखेर विदेशमै छन्। सचिव रामकुमार आचार्यसहितको एउटा टोली हालै विदेश भ्रमणमा गएको छ। उनी केही दिनअघि मात्रै विदेशबाट फर्किएका थिए। अरू तीन–चारवटा टोली पनि भ्रमणको तयारीमा रहेको स्रोतले जनाएको छ।
विभिन्न अध्ययनको बहानामा उच्चपदस्थ सरकारी कर्मचारीहरू विदेश जाने गरेका छन्। तर, उनीहरूको मुख्य उद्देश्य पैसा आर्जन गर्नु नै हो। कर्मचारीहरूले विदेश भ्रमणमा जाँदा दैनिक डेढ सयदेखि तीन सय ५० डलरसम्म भत्ता पाउने गर्छन्। युरोपियन देशहरूमा जाँदा सो रकममा ३३ प्रतिशत थप हुने गरेको छ। एनजिओ–आइएनजिओको खर्चमा जाने कर्मचारीले भने अझै बढी रकम पाउने गरेका छन्।
सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले असार महिनामा कर्मचारीहरू विदेश जानेक्रम ह्वात्तै बढेको र यसले विभिन्न विकृति ल्याएको गुनासो आफूकहाँ आएको बताए। कतिपय अवस्थामा राष्ट्रको प्रतिनिधित्वका लागि विदेश जानैपर्ने भए पनि जथाभावी जाने क्रमलाई नियन्त्रण आवश्यक रहेको उनको भनाइ छ।


