![]()
काठमाडौ,२६ असार ।
सरकारले केही दिनमा नै संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरेको छ । असोज २ मा हुने तेस्रो चरणको स्थानीय तहको चुनावमा राजपालाई समेट्न संशोधन अघि बढाउन लागिएको हो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संशोधन विधेयक पास गर्न आवश्यक दुई तिहाई जुटाउन प्रयासरत छन् । राष्ट्रिय जनता पार्टीले हालै मात्र निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएको छ । तर, उसले चुनावमा जान संविधान संशोधन लगायतका आफ्ना माग पुरा हुनुपर्ने अडान पनि छाडेको छैन ।
संशोधन विधेयकलाई संसदको प्रक्रियामा लैजाने र पास फेल जे भएपनि त्यसलाई स्वीकार गरेर चुनाव जाने बचन राजपा नेताहरुले लिएको सत्तारुढ दलको दाबी छ । साथै प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले पनि दुई तिहाई पुर्याएर संशोधन पास गराउने बचन दिएका छन् । पहिलो चरणको चुनाव अघि बैशाख १७ गते नै संशोधन पास गर्ने सरकारको तयारी थियो । तर, अन्तिम समयमा राप्रपाका १० सांसद हराएपछि यो प्रक्रिया अवरुद्ध भयो । संघीय समाजवादी फोरम चुनावमा आएपछि तत्कालीन मधेसी मोर्चामा रहेका अन्य छ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले भाग लिएन । दोस्रो चरणको चुनाव अघि प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने सहमति भयो । केही ठाउँमा राजपाका नेताहरु स्वतन्त्र उम्मेदवार बने । तर, सिंगो पार्टी अझै चुनावी प्रक्रियामा आएको छैन ।
अहिले फेरि संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी सुरु भएको छ । तर, संशोधन विधेयक पास फेल के हुन्छ यसै भनिहाल्ने अवस्था छैन । यद्यपि राप्रपाले धोका नदिए संशोधन विधेयकको पक्षमा दुई तिहाई पुग्ने सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरु बताउँछन् । संसदमा अहिले सदस्य संख्या ५९२ छ । अर्थात संशोधन पास गर्न ३९५ सांसद चाहिन्छ ।
यस्तै यदि संशोधन विधेयकलाई पास हुन नदिने प्रमुख विपक्षी एमालेले आफ्नो पक्षमा १९८ सांसद पुर्याउन सक्नुपर्छ । अहिले संशोधनको विपक्षमा प्रष्ट १९८ सांसद छैनन् । एमालेको १८० सांसद छन् । मालेको ५, नेमकिपाको ४, रााष्ट्रिय जनमोर्चाका ३ सांसद र लक्ष्मण राजवंशी नेतृत्वको बौद्धिक जनतान्त्रिक परिषद्को एक सांसद छन् । यसरी हेर्दा एमाले गठवन्धनमा १९३ सांसद देखिन्छन् । तर, यो संशोधन रोक्नका लागि पर्याप्त छैन ।


