![]()
काठमाडौ,२१ असार ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन गर्न नसक्ने भए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । मंगलबार अपराह्न सिंहदरबार पुगेका ठाकुरले तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन हुन्छ कि हुँदैन भनी सोधेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले आफू त्यसैका लागि प्रयासरत रहेको भन्दै केही दिन कुर्न आग्रह गरेका छन् ।
अध्यक्षमण्डलका कुनै पनि नेता नलिई सिंहदरबार पुगेका ठाकुरसँग प्रधानमन्त्री देउवाले एक्लै कुरा गरेका थिए । दुई नेताबीच करिब आधा घन्टा कुराकानीपछि ठाकुर भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई भेट्न लैनचौरस्थित दूतावास गएका थिए । पुरीसँग के कुरा भयो भन्नेबारे दुवै पक्षले खुलाउन मानेनन् । यो भेटमा पनि कोही सहयोगी थिएनन् । ठाकुरका यी दुवै भेट अति गोप्य राखिएको छ । प्रधानमन्त्री र राजदूतसित यसअघिका भेटहरुमा राजपा अध्यक्षमण्डलका अन्य नेता पनि सहभागी हुन्थे ।
मंगलबार साँझसम्म चलेको राजपा अध्यक्षमण्डल बैठक बीचैमा छाडेर ठाकुर सिंहदरबार र लैनचौर गएका थिए । त्यसपछि उनी पार्टी बैठकमा आए पनि दिनभरका भेटबारे कुनै कुराकानी नभएको पार्टी स्रोतले दाबी गरेको छ । दोस्रो चरणको स्थानीय चुनाव निर्वाध सफल भएपछि राजनीतिक निकास निकाल्ने र अगाडिको बाटो पहिल्याउनेबारे महत्वपूर्ण छलफल भएको हुन सक्ने अध्यक्षमण्डलका एक नेताले बताए । तर उनले त्यसबारे विस्तृत जानकारी पाइनसकेको दाबी गरे । ठाकुरका एक सहयोगीले प्रधानमन्त्री र राजदूतसँगका दुवै भेटको एकअर्कासँग सम्बन्ध रहेको संकेत गरे पनि विस्तारमा भन्न नसकिने बताए ।


