![]()
विराटनगर,२१ असार ।
बिराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता बढाएको छ । अहिलेसम्म कांग्रेसका मेयरका उम्मेदवार भिम पराजुलीले १० हजार १ सय ५३ मत प्राप्त गर्नु भएको छ भने एमालेका बिनोद ढकालले ७ हजार १ सय ४२ मत प्राप्त गर्नु भएको छ । त्यस्तै संघीय समाजवादी फोरमका उमेश यादवले ५ हजार ५ सय ८९ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले ८ हजार ४ सय ३४ मत प्राप्त गर्नु भएको छ । यस्तै लोकतान्त्रिक फोरमकी सुची चौधरीले ४ हजार एक सय ८५ मत प्राप्त गर्नुभएको भएको छ । माओवादी केन्द्रकी नमिता न्यौपानेले भने ४ हजार १ सय ४३ मत प्राप्त गर्नु भएको छ ।
७ वटा उपमहानगरपालिकामध्ये दाङको घोराही र नेपालगंजको बाँकेको नतिजा सार्वजनिक भैसकेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । मेयरमा एमालेका उम्मेदवार द्वारिकलाल चौधरीले १२ हजार ५ सय २२ मत पाउनुभएको छ । नेपाली कांग्रेसका रोहित प्रसाईंको ११ हजार ७ सय मत आएको छ । उपमेयरमा १२ हजार ४३ मत ल्याएर एमालेकी लक्ष्मीकुमारी गौतम अगाडि हुनुहुन्छ । कांग्रेसकी विमला ढकालको ११ हजार ५४ मत आएको छ । सोमबारदेखि स्थगित भएको धरान उपमहानगरपालिकाको मतगणना भने अझै सुरु हुन सकेको छैन । निर्वाचन आयोगबाट खटिएका गणकले सही मत परिणाम सार्वजनिक नगरेको आरोप लगाउँदै माओवादी केन्द्रले विरोध गरेपछि मतगणना स्थगित भएको हो ।
त्योसँगै धरान–९ र १० नम्बरको मतपरिणासमेत सार्वजनिक हुन सकेको छैन् । विवाद मिलाएर गणनालाई निरन्तरता दिने निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद महतले बताउनुभयो । मतगणना रोकिँदासम्म एमालेका तारा सुब्बा अघि हुनुहुन्छ । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार हमालले ६ हजार ४ सय ६० मत ल्याउनु भएको छ । नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ९ सय ६७ मत पाउनु भएको छ ।
उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ । ७ हजार ७८ मतसहित कांग्रेसकी सुशीला मिश्र भट्ट पहिलो तथा एमालेकी रुक्मणी देवकोटाले ५ हजार ९ सय ४१ मतसहित दोश्रो स्थानमा हुनुहुन्छ । यस्तै दाङको तुल्सीपुर उपमहानगरालिकाको मेयरमा एमालेका घनश्याम पाण्डे १६ हजार ६सय ७० मत सहित अघि हुनुहुन्छ । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ३ सय ५८ मत पाउनु भएको छ । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेद्वारले १५ हजार ६ सय २१ र एमालेकाले १५ हजार २७ मत ल्याउनु भएको छ ।
यस्तै रुपन्द्रेहीको बुटवल उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । एमालेका शिवराज सुवेदी १९ हजार ६ सय ४३ मत सहित अघि हुनुहुन्छ । कांग्रेसका खेलराज पाण्डेको १७ हजार १ सय २८ मत आएको छ । उपमेयरमा एमालेका गोमा आचार्यको २१ हजार ३ सय ८० र माओवादी केन्द्रका जगत पोखरेलको १२ हजार ५४ मत प्राप्तगर्नु भएको छ । यो उपमहानगरपालिकाका १९ वडा मध्ये १४ वटाको गणना भइसकेको छ भने १५ नम्बर वडा गणना हुन बाँकी छ ।


