![]()
दाङ,१७ असार ।
दाङमा रहेका दुइ उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । घोराही उपमहानगरपालिकामा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ७ हजार १ सय ७ मत ल्याइ सुरुदेखि अग्रता कायम राख्नुभएको हो । कांग्रेस उम्मेदवार भूपबहादुर डाँगीले ५ हजार १ सय २ मत ल्याएर चौधरीलाई पच्छ्याइ रहनु भएको छ । उपम्मेयरमा पनि एमाले नै अघी छ । एमाले उपमेयरका उम्मेदवार सीता न्यौपानेले ६ हजार ७ सय २२ र कांग्रेस उम्मेदवार पुष्पा श्रेष्ठले ५ हजार २ सय ५२ मत ल्याउनु भएको छ । माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमले ३ हजार २ सय ९४ मत र उपमेयरका उम्मेदवार सीता चौधरीले ३ हजार ३ सय ९४ मत ल्याउनु भएको छ ।
घोराही उपमहानगरपालिकाबाट अहिले सम्म वडा नं १, २, ३, ५, ६ र १९ को नतिजा पनि सार्वजनिक भएको छ । वडा १, २ र १९ मा एमालेले र ३, ५ र ६ नम्वर वडामा कांग्रेसले जितेको छ । १९ वडा रहेको घोराही उपमहानगरपालिकामा ५८ हजार ५ सय ३९ मत खसेको छ । यो उपमहानगरपालिकाबाट ४ सय ४४ जना चुनावी मैदानमा छन् । त्यस्तै तुल्सीपुर उपमहानगरपालिकामा पनि एमालेले सुरुदेखिको अग्रता कायमै राखेको छ । एमाले मेयरका उम्मेदवार घनश्याम पाण्डेले २ हजार ८ सय ४३ र कांग्रेस मेयरका उम्मेदवार गेहेन्द्र गिरीले २ हजार ३ मत ल्याउनु भएको छ । उपमेयरमा पनि एमाले अघी छ । एमाले उम्मेदवार माया आचार्यले २ हजार ७ सय र कांग्रेस उपमेयर उम्मेदवार देवका नेपालीले २ हजार ४ सय ९५ मत ल्याउनु भएको छ ।
माओवादी केन्द्रका मेयर उम्मेदवार शेशुराम भण्डारीले ५ सय ४२ र उपमेयर सीता वलीले ५ सय ६१ मत ल्याउनु भएको छ । १९ वटा वडा रहेको तुल्सीपुर उपमहानगरपालिकामा ५७ हजार ३ सय ६७ मत खसेको छ । यो उपमहानगरपालिकामा ४ सय ३६ जना चुनावी मैदानमा छन् ।
अग्रतामा कांग्रेस र एमालेको ठक्कर
दाङको मतगणना भैरहँदा घोराही र तुल्सीपुर उपमहनगरपालिका, गढवा र दंगीशरण गाउँपालिकामा गरी एमाले ४ स्थानमा अघी छ । लमही नगरपालिकासहित राप्ती, शान्तिनगर र बबइ गाउँपालिका गरी ४ स्थानमा कांग्रेस अघि छ ।
३० वडाको टुङ्गो
१० स्थानीय तहमा १ सय मध्ये ३० वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक मतपरिणामा सवैभन्दा धेरै माओवादी केन्द्र १५ वडामा, एमाले ८ र कांग्रेसले ७ वटा वडामा जित हासिल गरेका छन् ।
कांग्रेस र माओवादी केन्द्र एक एक स्थानमा विजयी
दाङको बंगलाचुली गाउँपालिकामा नेकपा माओवादी केन्द्र र राजपुर गाउँपालिकामा कांग्रेसले जितेको छ । बंगलाचुलीको अध्यक्षमा माओवादीका भक्तबहादुर वली र उपाध्यक्षमा पनि माओवादी केन्द्रकै यमुना थापा मगर विजयी हुनु भएको छ । राजपुर गाउँपालिकाका कांग्रेसका लोकराज केसी र उपाध्यक्षमा पनि कांग्रेसकै धनपति यादव विजयी हुनु भएको हो ।


