Breaking News.... EverestOnlineKhabar
May 12, 2026

प्रदेश र केन्द्रको निर्वाचनको तयारी थाल्न सरकारलाई निर्वाचन आयोगको आग्रह

Loading

काठमाडौ,१७ असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले प्रदेशसभा र संघीय संसद्को निर्वाचन तयारी थाल्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले असोज अन्तिम साता प्रदेशसभा, कात्तिक दोस्रो साता राष्ट्रिय सभा र मंसिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्न उपयुक्त हुने प्रस्तावसमेत गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोग पदाधिकारीहरूले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी माघ ७ भित्र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था सम्झाएका हुन् ।
आयुक्त सुधीरकुमार शाहले चुनाव गराउन आयोग तयार रहेको र त्यसका लागि सरकारबाट हुनुपर्ने तयारी बेलैमा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए । त्यसका लागि आवश्यक कानुन असार मसान्तभित्रै र निर्वाचन
क्षेत्र निर्धारण साउन १५ गतेसम्म भइसक्नुपर्ने आयोगले जनाएको छ ।
निर्वाचनका लागि आवश्यक कानुन निर्माणको समयसीमा, निर्वाचनको उपयुक्त मितिलगायत विषयमा आयोगले प्रधानमन्त्रीलाई सुझाव दिएको हो ।
आयोगले संविधानअनुसार क्षेत्र निर्धारण आयोगमार्फत निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, प्रदेशसभा सदस्य निर्वाचन ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन बन्नुपर्ने जनाएको छ । मतदाता नामावली सम्बन्धी ऐनमा समेत केही परिमार्जन आवश्यक रहेको आयोगको सुझाव छ ।
स्थानीय तह निर्वाचनको मिति तोक्नै सरकारबाट भएको ढिलाइ, तयारीका लागि पर्याप्त समय नपाएको र त्यसपछि पनि पटक–पटक तिथि सारिएपछि आजित बनेको आयोगले आगामी निर्वाचनमा त्यस्तो अवस्था नदोहोरियोस् भन्नेतर्फ पनि सरकारलाई सजग गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.