Breaking News.... EverestOnlineKhabar
June 26, 2026

राजधानी विराटनगर रहने :नेकपा प्रस्ताव हुबहु पारित

Loading

विराटनगर – राजधानी विराटनगर रहने तथा कार्यपालिका, व्यवस्थापिकालगायत अन्य :संरचना बृहत् विराट क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहने सत्तारूढ नेकपाको प्रस्ताव प्रदेश १ को संसद्ले सोमबार हुबहु पारित गरेको छ । नेकपाको प्रस्तावको विपक्षमा उभिँदै आएको मुख्य विपक्षी नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले पनि अन्ततः त्यही प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

दिउँसो २ बजेका लागि बोलाइएको संसद् बैठक कांग्रेसलाई मनाउनकै लागि केहीबेर चलेर चार घन्टा रोकिएको थियो । सहमति भएपछि साँझ ६ बजेपछि मात्रै सदन सुचारु भएको थियो । नेकपाले सदनमा पेस गरेको प्रस्तावमा उल्लिखित ‘कार्यपालिका, व्यवस्थापिकालगायत अन्य संरचनाहरू बृहत् विराट क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहनेछ’ भन्ने विषयमा असहमति राख्दै आएको कांग्रेसलाई मुख्यमन्त्री शेरधन राईले ‘राजधानीका संरचना नसार्ने’ वचन दिएपछि उसले नेकपाको प्रस्ताव सकारेको थियो । त्यसैले नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पेस गरेको प्रस्तावको पक्षमा ८६ मत परेको थियो । विपक्षमा कुनै मत परेन । संसद्को दुई तिहाइ बहुमतले प्रस्ताव पारित गरेसँगै प्रदेशको राजधानी विराटनगर कायम हुने भएको छ भने कार्यपालिका र व्यवस्थापिकालगायत संरचना प्रस्तावमा समेटिएका क्षेत्रमा स्थापना हुने बाटो खुलेको छ ।

नेकपाको प्रस्ताव स्वीकार गरेको कांग्रेसका एकजना सांसदले भने फरक मत दर्ज गरेका छन् । ताप्लेजुङका कांग्रेस सांसद प्रतापप्रकाश हाङ्गामले मतदान बहिष्कार गरेका छन् । उक्त प्रस्ताव सदनमा प्रस्तुत हुनुहुन्न भन्ने एक मात्र ध्वनि मत व्यक्त गरेका उनी धनकुटा वा इटहरी राजधानी राख्नुपर्ने पक्षमा थिए । कांग्रेस सांसदहरू अगमलाल चौधरी, ज्योति सुब्बा, नेकपाका गणेश काम्बाङ, संघीय समाजवादी फोरमका रामचन्द्र लिम्बू र राधा थापा अनुपस्थित थिए ।

सत्तारूढ नेकपाका बहुसंख्यक सांसद विराटनगरको विपक्षमा रहेका बेला नेकपा नेतृत्वले ‘राजधानी विराटनगर रहने’ तर कार्यपालिका र व्यवस्थापिकालगायत अन्य संरचना इटहरी, सुन्दरहरैंचा, विराटनगरआसपासमा राख्ने निर्णय लिँदै दलभित्र सहमति कायम गरेको थियो । तर सो प्रस्तावमा कांग्रेसलाई मनाउन नेकपालाई हम्मे परेको थियो । आइतबार सदनमा प्रस्ताव पेस भएलगत्तै विराटनगर महानगरको अगुवाइमा विरोध भएको थियो । सोमबार विराटनगरमा बन्दसमेत आह्वान भएको थियो ।
मुख्यमन्त्री राईले कांग्रेसलगायत बन्दकर्तासँग ‘कार्यपालिका र व्यवस्थापिकाका संरचना विराटनगरबाट नसार्ने’ मौखिक सहमति गरेपछि बन्द फिर्ता भएको थियो भने कांग्रेस पनि आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाकै प्रस्ताव मान्न राजी भएको थियो । कांग्रेसले विराटनगर राजधानी बनाउने प्रस्ताव पेस गरेको थियो । संघीय समाजवादी फोरमले कांग्रेसलाई नै समर्थन गरेको थियो । कांग्रेस प्रमुख सचेतक केदार कार्की र संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले संसद्मा बोल्दै ‘कुनै पनि संरचना नसार्ने भद्र सहमति सरकारसँग भएको र त्यही आधारमा प्रस्ताव फिर्ता लिएको’ बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed