Breaking News.... EverestOnlineKhabar
June 24, 2026

विष्णु पौडेलको शंकास्पद कारोबारको थप विवरण सार्वजनिक: श्रीराम टोबाकोमा ३० करोडको सेयर, बुटवलमा भेटियो ३५ बिघा जग्गा

Loading

काठमाडौँ, एभरेस्ट अनलाइन खबर।

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेपाल सरकारका पूर्वमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्टमार्फत गरेका करोडौँका शंकास्पद कारोबारहरूको थप सनसनीपूर्ण विवरण खुलेको छ। सोही अनुसन्धानका लागि अदालतले उनलाई सात दिन हिरासतमा राख्न अनुमतिसमेत दिइसकेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनका क्रममा पौडेलले बुटवलमा एक स्थानीय व्यक्तिको नाममा (गाई फार्मको आवरणमा) ३५ बिघा जग्गा लुकाएको पुष्टि भएको छ। उक्त जग्गामा विशाल होटलसहितको पूर्वाधार बनाउने योजना रहेको अनुसन्धानबाट खुलेको छ।

यस्तै, आफ्नै लगानीमा श्रीराम टोबाको कम्पनीमा ३० करोड रुपैयाँ बराबरको सेयर बिचौलिया दीपक भट्टको नाममा राखी मोटो लाभांश बुझ्ने गरेको तथ्य पनि विभागले फेला पारेको छ। उक्त सेयर तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरेको देखिए पनि लाभांश भने सोभन्दा धेरै गुणा बढी लिने गरेको र श्रीराम टोबाकोका सञ्चालकसँग बयान लिँदा यो विषय पुष्टि भइसकेको विभागले जनाएको छ।

नीतिगत सहजता मिलाएबापत ३० करोडभन्दा बढी अवैध लाभ

सरकारमा रहँदा पौडेलले बिचौलिया दीपक भट्टका लागि मुख्य चारवटा ठूला कामहरू गरिदिएबापत ३० करोड रुपैयाँभन्दा बढी अवैध लाभ  लिएको अनुसन्धानले देखाएको छ। उनले नीतिगत सहजता मिलाइदिएका मुख्य क्षेत्र :

  • सुपारी आयातमा सहजीकरण: व्यापारीक फाइदाका लागि सुपारी आयातको प्रक्रिया सहज गराइदिएको।

  • हिमालयन रि-इन्स्योरेन्सको सेयर: हिमालयन रि-इन्स्योरेन्सको सेयर सहजतापूर्वक उपलब्ध गराइदिएको।

  • लघुबिमाको लाइसेन्स: सातवटा लघुबिमा कम्पनीलाई नयाँ लाइसेन्स वितरणमा सेटिङ मिलाएको।

  • जनकपुर चुरोट कारखाना निजीकरण: जनकपुर चुरोट कम्पनीलाई निजी कम्पनीलाई सुम्पिने प्रक्रिया अघि बढाएको।

यी विभिन्न कम्पनीहरूमा अन्य व्यक्तिको नाममा राखिएको सम्पत्तिबारे विभागको टोलीले छापा हानेर विस्तृत विवरण र कागजातहरू संकलन गरिसकेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस प्रकरणलाई गम्भीरतापूर्वक लिँदै थप वित्तीय संजाल र अवैध धनको खोजी तीव्र पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed