![]()
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका कर्मचारी, शिक्षक र प्राध्यापकलाई सामाजिक सञ्जालमा स्वभाविक रुपमा गरिँदै आएको कतिपय गतिविधिमा समेत अंकुश लगाउने गरी ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशन २०७५’ जारी गरेको छ।
मन्त्रीस्तरीय निर्णय गर्दै गत कात्तिक १३ मा शिक्षा मन्त्रालयबाट जारी ६ बुँदे मार्ग निर्देशनमा सकारात्मक टिप्पणीलाई लाइक तथा सेयर गर्न पाइने उल्लेख भए पनि व्यंग्यात्मक टिप्पणी र लाइक गर्न अंकुश लगाइएको छ।
सरकारको नीति, मन्त्रालय वा सरकारी निकायका निर्णयहरु, प्रस्तावित नीतिहरु आफ्नो पेजमा सेयर गर्न र सकारात्मक टिप्पणी गर्न, लाइक गर्न पाइने मार्ग निर्देशनमा उल्लेख छ।
‘तर त्यस्ता विषयहरुको नकारात्मक टिकाटिप्पणी गर्न वा व्यंग्यात्मक शैलीमा टिप्पणी गर्न, नकारात्मक टिप्पणी लाइक गर्न तथा सेयर गर्ने कार्य निजामती कर्मचारी तथा विद्यालय एवं विश्वविदयालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीको आचारसंहीत विपरीत हुने हाँ यस्ता कार्यहरु गर्न पाइने छैन’, मार्ग निर्देशनमा भनिएको छ।
मन्त्रालय र यस अन्तर्गतका निकायहरु र विद्यालयकहले सामाजिक सञ्जालमा आफ्ना आधिकारिक पेज वा ह्याण्डलको प्रोफाइल फोटो सम्बन्धित संस्थाको बोर्ड देखिने फोटो र कभर फोटोमा आ-आफ्नो निकायको फोटो राख्नुपर्ने निर्देशनमा उल्लेख छ।
त्यस्तै मन्त्रालय अन्तर्गतका कर्मचारी तथा विद्यालय र विश्वविद्यालयका शिक्षकहरुले सामाजिक सञ्जालमा आफ्नो खाता खोल्दा वास्तविक फोटो राख्नुपर्ने र विवरण पनि साँचो राख्नुपर्ने छ।


