Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । अमेरिकी संसदीय चुनावको प्रचार अभियान अन्तिम चरणमा आइपुग्दा उक्त अभियान जातिवादी बन्दै गएको आरोपसँगै पछिल्लो समयको सबभन्दा नकारात्मकमध्येको एक प्रचार अभियानमा परिणत भएको छ।

अमेरिकी टेलिभिजन नेटवर्कहरूले एकजना गैरकानूनी आप्रवासीले प्रहरीलाई मारेको विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पको टोलीले बनाएको एउटा प्रचारसामग्री हटाएका छन्।

यसैबीच फलोरिडा र जर्जियामा चर्चित अफ्रिकी-अमेरिकी उम्मेदवारहरूलाई लक्षित गर्दै स्वचालित जातिवादी कलहरू आएका छन्। मङ्गलवारको संसदीय चुनावलाई राष्ट्रपति ट्रम्पको कार्यकालको परीक्षणका रूपमा हेरिँदैछ।

चुनावी नतिजाले ट्रम्पको बाँकी दुई वर्षे कार्यकाल कस्तो हुने भन्ने निर्क्योल गर्नेछ। अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि चुनाव हुन लागेको हो। ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमत सङ्ग्रह सरह हुने ट्रम्पले बताउने गरेका छन्।

गत अगस्टमा ट्रम्पले संसदीय चुनावमा डेमोक्र्याटिक दलले जिते आफ्ना नीतिहरू ‘हिंसात्मक रूपले’ उल्ट्याइने चेतावनी दिएका थिए।सोमवार एनबीसी र सामाजिक सञ्जाल फेसबुकका साथै ट्रम्पलाई मनपर्ने फक्स न्यूजले पनि ट्रम्पको ३० सेकेन्ड लामो एउटा चुनावी प्रचार सामग्री प्रसारण नगर्ने घोषणा गरेका छन्।

भिडिओ क्लिपमा डेमोक्र्याटहरूले कागजात विनै मेक्सिकोका एक आप्रवासीलाई अमेरिका प्रवेश गर्न दिएको र ती आप्रवासीले सन् २०१४ मा क्यालिफोर्नियामा दुईजना अधिकारीको ज्यान लिएको देखाइएको छ। ट्रम्पले गत हप्ता उक्त क्लिप ट्वीट गरेका थिए, तर जातिवादी भन्दै सीएनएनले त्यसलाई प्रसारण गर्न अस्वीकार गर्‍यो।

विज्ञापनबारे सोमवार प्रश्न राख्दा ट्रम्पले पत्रकारहरूलाई भने, “थुप्रै कुरा अपमानजनक छन्। तपाईँहरूले सोध्ने प्रश्न पनि धेरै पटक अपमानजनक हुने गर्छन्।”

पूर्वराष्ट्रपति बराक ओबामाले देशको चरित्र र सार्वजनिक जीवनमा मानिसहरूले आफूलाई कसरी अघि बढाए भन्ने कुरा मतपत्रमार्फत् व्यक्त हुने बताएका छन्। निर्वाचनबाट डेमोक्र्याटिक पार्टीले हाउस अफ रेप्रेजेन्टेटिभमा पुनः नियन्त्रण कायम गर्न चाहेको छ भने रिपब्लिकन पार्टीले सिनेटमा आफ्नो पकड बलियो पार्न चाहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed