![]()
एजेन्सी । सरकारले यौनजन्य अश्लील सामाग्रीको सहज पहुँचमा रोक लगाउन भन्दै त्यस किसिमका वेबसाइटहरु बन्द गर्न निर्देशन दिएपनि इन्टरनेट सेवा प्रदायकहरुले भने सरकारले तोकेर दिएको साइटबाहेक अरु बन्द गर्न नसक्ने बताएका छन् ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले निर्देशन दिएपछि दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई बोलाएर सरकारको निर्देशन कार्यन्वयन गर्न भनेको थियो । तर, सेवा प्रदायकहरुले भने कुन–कुन साइट बन्द गर्ने हो तोकेर दिन प्राधिकरणलाई भनेका छन् ।
‘कुन पोर्न साइट हो, कुन होइन भन्ने छुट्याउन हामी कुनै नियामक निकाय होइन । सरकारले दिएको निर्देशन कार्यान्वयन गर्छौ तर, हामी आफैँ अनुगमन गर्दैनौ’, सेवा प्रदायक कम्पनीको भनाई छ ।
दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै मुलुकी अपराध संहिता–२०७४ ले यौनजन्य सामाग्रीहरुको आदानप्रदान प्रकाशन र प्रशारणलाई बन्देज लगाएको भन्दै त्यस्ता वेबसाइटहरु बन्द गर्न निर्देशन दिएको थियो।


