![]()
काठमाडौं । बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे।
नेपाली टोली आइतबारै बङ्गलादेश प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन्। समूह ‘बी’ मा आयोजक बङ्गलादेशसँगै लाओस र फिलिपिन्स छन्। नेपालले आफ्नो पहिलो खेल असोज १६ मा ताजकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल २० गते प्यालेस्टाइनसँग सामना गर्नेछ। दुवै समूहका विजेतासहित उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।
यसअघिको प्रतियोगितामा नेपालले अन्तिम चरणको खेलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो। नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ छन् भने रक्षकमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ र सुमन अर्याल छन्। त्यसैगरी मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ र निराजन खड्का छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन्।


