![]()
काठमाडौं । प्रदेश कार्यदलले जिल्ला नेतृत्व छनोट गर्दा अध्यक्ष केपी ओली पक्षले ‘एकलौटी सिफारिस गरिएको’ भन्दै माधव नेपाल समूहले समानान्तर सिफारिसको तयारी गरेको छ । विशेष गरेर पाँच नम्बर प्रदेशका १२ जिल्लाका २४ पदमा एकजनासमेत माधव नेपाल पक्षधर नपरेको भन्दै ने क पाभित्रको विवाद सतहमा आएको हो ।
पूर्वएमालेबाट स्थायी कमिटी सदस्य शंकर पोखरेल र पूर्व पोलिट्व्युरो सदस्य दलबहादुर राना तथा माओवादी केन्द्रबाट मणि थापा र गणेशमान पुन रहेको कार्यदलले साउनको अन्तिम साता जिल्ला र प्रदेश कमिटीको नाम सिफारिस गरेको थियो । अहिले नाम सिफारिसमा कत्लेआम गरिएको भन्दै ने क पाभित्र रडाको मच्चिएको हो ।
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेलले आफ्नै बहिनीज्वाइँ शिव आचार्यलाई जिल्ला अध्यक्ष सिफारिस गरेको भन्दै नेपाल पक्षले आपत्ति जनाएको हो ।
बाँकेमा पनि नेपाल पक्षलाई अन्याय भएको छ । बाँके जिल्ला अध्यक्ष पूर्वमाओवादीको भागमा परेको छ, त्यसमा विवाद गर्ने कुरा भएन । तर, सचिव पदका लागि योग्यतम् उपाध्यक्ष नीरज गुरूङ, सचिव रत्न खत्री उपसचिव प्रमोद धिताल थिए । उनीहरू कसैलाई पनि योग्य नठहर्याइ उपाध्यक्षमा पराजित भएका गोपाल गिरीलाई सचिवमा सिफारिस गरिएको छ ।
अर्घाखाँचीमा पनि त्यस्तै समस्या चुलिएको छ । जिल्ला नेतृत्व सिफारिसमा विधि, प्रकृया सबै मिचिएको भन्दै पूर्व जिल्ला सचिव रामबहादुर चौहान काठमाडौँ आएका छन् । नेपालनिकट केन्द्रीय सदस्यले पनि कुनै हालतमा चौहान नै जिल्ला अध्यक्ष सिफारिस हुनुपर्ने बताउँछन् ।
काठमाडौँमा पनि पदाधिकारी नै नरहेको र जिल्ला सदस्यमात्रै भएको रामशरण ढुंगानालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट भएकै आधारमा जिल्ला अध्यक्ष सिफारिस गरिएको छ ।
सिन्धुपाल्चोकमा झम्क नेपाल यसअघि जिल्ला अध्यक्ष थिए । साथै अध्यक्ष सिफारिस गर्न मापदण्डले पनि रोक्दैन । तर, एकलौटी गरिएको भन्दै बालकृष्ण देउजालगायतको समूह अहिले पार्टी नेतृत्वको घरदैलो गरिरहेको छ । सिकार बनाइएको उनको आरोप छ ।
ओली पक्षले धेरै पेलेपछि नेपाल पक्षले सामानान्तर कमिटी बनाउने चेतावनी दिंदै यस सम्बन्धी तयारी पनि सुरु गरिसकेको छ ।


