![]()
काठमाडौं । ठूलो उद्योगी व्यवसायीसंग घनिष्ट सम्बन्ध भएर अकुत सम्पत्ती आर्जन गरेको आरोप आफूमाथि लागिरहेकाबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उद्योगी व्यवसायीलाई राज्यले ठग जस्तो व्यवहार गरेर नियन्त्रणमा लिन नहुने अभिव्यक्ति दिनुभएको छ ।
ठेक्का लिने तर समयमा काम पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्नूृपर्ने चौतर्फी दबाब परिरहेकाबेला अध्यक्ष दाहालको यो भनाइले सबैलाई चकित पारेको छ । दाहालको व्यवसायी सुमार्गी, दुर्गा प्रसाई लगायतसंग नजिकको सम्बन्ध छ । यो भनाईले दाहालले ठगी गर्ने व्यवसायीलाई संरक्षण गरिरहेको आरोपमाथि थप बल पुगेको छ ।
इभेन्ट्स एण्ड भेन्यू एशोसिएशन अफ नेपालको आठौ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले राज्यले अनावश्यकरुपमा व्यवसायीलाई नियन्त्रण गर्न नहुने र व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर छल्न नहुने बताउनुभयो ।
‘नाफा कमाउने व्यवसायलाई दुहुनु गाईका रुपमा मात्र प्रयोग गर्ने संस्कार ठीक होइन, नाफा कमाउने स्वतन्त्रता पनि दिनुपर्छ, जनता बलियो भएमात्र देशको विकास हुन्छ’ अध्यक्ष दाहालले भन्नुभयो । अहिले बलियो सरकार भएको हुँदा जनता र व्यवसायीबाट आएका गुनासालाई सम्बोधन गर्ने उल्लेख गर्दै उहाँले पार्टीका तर्फबाट आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले आगामी दिनमा स्वदेशमै रोजगारीको सिर्जना गर्नेलाई राज्यले प्रोत्साहन गर्ने खालको नीति निर्माणमा सरकारले ध्यान दिनका लागि आफूले भूमिका खेल्ने र नेपालको उद्योग व्यवसायीलाई सेवामुखी संस्थाका रुपमा विकास गर्ने बताउनुभयो ।


