![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका लागि खर्च गर्नु पर्ने रकम यौनसाथीलाई दिएको कुरा अस्वीकार गरेका छन् । ट्रम्पका पूर्व वकिल माइकल कोहेनले चुनावी अभियानको अर्थ व्यवस्थापन सम्बन्धी कानुन उल्लंघन गरेकामा दोषी पाइएपछि उनले ट्रम्पकै निर्देशनमा आफूले त्यस्तो गरेको बताएका थिए ।
ट्रम्पले भने आफूले कुनै पनि किसिमले चुनावी अभियानको रकम दुरुपयोग नगरेको बताए । फक्स एण्ड फ्रेण्डससँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति ट्रम्पले महिलाहरुलाई दिएको रकम आफ्नो व्यक्तिगत रहेको बताएका छन् ।
सन् २०१६ को राष्ट्रपति चुनावमा भएको अनियमितता र रुसी दखलका बारेमा अनुसन्धान भइरहेका बेला म्यानहटनको अदालतले कोहेनलाई चुनावी अभियानको आर्थिक व्यवस्थापन सम्बन्धी कानुन उल्लंघन गरेकोमा मंगलबार दोषी ठहर गरेको हो ।
ट्रम्पले चुनावलाई प्रभावित पार्ने उद्देश्यसहित आफूलाई आर्थिक व्यवस्थापन सम्बन्धी कानुनमा भएको उल्लंघन ‘कभर–अप’ गर्न निर्देशन दिएको कोहेनले बताएका थिए ।
ट्रम्पले पोर्न स्टार स्ट्रोमी ड्यानियल्स र मोडल करिन म्याकडुगल्सलाई आफूसँगको सम्बन्धबारे चुप रहनका लागि ठूलो रकम दिएको आरोप छ ।


