![]()
जाकर्ता,भदौ ।
१८औं एसियाली खेलकुद (एसियाड) को दोस्रो दिन नेपालले आज ९ खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालले तेक्वान्दो, फुटबल, फेन्सिङ, ब्याडमिन्टन, उसु, कबड्डी, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा पनि प्रतिस्पर्धा गर्दैछ। नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रतिस्पर्धा गर्दैछन्। दुवैले चाइनिज ताइपेहका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन्। फेन्सिङ सावर इभेन्टमा कमला श्रेष्ठ र रविना थापाले प्रतिस्पर्धा गर्दैछन्। पुल एमा रहेकी कमलाले जापान, मंगोलिया, हङकङ, चीन, इन्डोनेसिया र भियतनामकी खेलाडीसँग भिड्दैछिन्।
कुस्तीमा पनि ३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। जसमा भागवत साह, सरोज यागद र सुरेश सुनार छन्। उसुको ५२ केजी तौल समूहअन्तर्गत जुनी राईले प्रतिस्पर्धा गर्दैछिन्। उनको खेल भियतनामकी नगुएन थिथुथीसँग तय भएको छ। यस्तै ६० केजी तौल समूहमा नेपालका मंगलप्रसाद थारुले इन्डोनेसियाका सोफियन अब्दुस हारिससँग भिड्नेछन्।
फुटबलमा नेपाल सुरुवाती २ खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिने लगभग निश्चित छ। समूहमा तेस्रो टिम पनि दोस्रो चरणमा पुग्ने भएको हुँदा नेपालको गणितीय सम्भावना मात्र बाँकी रहेको छ। समूह चरणबाट बाहिरिने सँघारमा रहेको नेपालले आइतबार समूह डीको खेलमा पाकिस्तानसँग वेस्ट जाभास्थित सहिद चन्द्रभागा रंगशालामा प्रतिस्पर्धा गर्नेछ।नेपालले आइतबार ब्याडमिन्टनको महिला तथा पुरुष टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्दैछ। पुरुष टिम इभेन्ट्समा नेपालसहित १३ टिमले सहभागिता जनाउँदैछन्। चीन, चाइनिज ताइपेई र भारत सिधै क्वार्टरफाइनलमा पुगिसकेका छन्।


