![]()
एजेन्सी,भदौ ।
संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रहँदै समानताका लागि निरन्तर काम गरेको स्मरण गर्नुभएको छ ।
यसैबीच घानाका राष्ट्रपति नाना आकुफो अड्डाले अन्नानको मृत्युले घाना स्तब्ध भएको भन्दै उहाँको सम्मानमा घाना तथा यसका कुटनीतिक नियोगहरूमा हक हप्ता आधा झण्डा झुकाएर शोक मनाउने बताउनुभएको छ ।
फाउण्डेसनका उप प्रमुख, नर्वेका पूर्व प्रधानमन्त्री तथा विश्व स्वास्थ्य सङ्गठनका पूर्व प्रमुख ग्रो हार्लेम ब्रन्टल्याण्डले अन्नानको मृत्युपछि एक विज्ञप्ति जारी गरी कोफीले विश्वका लाखौँलाख मानिसको जीवन सुधारका लागि काम गर्नुभएको थियो ।
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख तथा अर्का नर्वेली पूर्व प्रधानमन्त्री जेन्स स्टोलटेनबर्गले पनि अन्नानले कुनै व्यक्ति एकै समयमा ठूलो मानवीय सहयोगी र बलियो नेता बन्नसक्छ भन्ने देखाएर हामीबाट विदा हुनुभएको बताउनुभयो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि शनिबार नै पूर्व राष्ट्रसंघ प्रमुख अन्नानको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रसंघ प्रमुख गुटेर्रेसलाई एक शोक सन्देश पठाउनुभएको छ ।
बेलायती प्रधानमन्त्री टरिजा मेले अन्नान एक विशिष्ठ विश्वनेता तथा राष्ट्रसङ्घका सुधारक रहेको भन्दै अन्नानको स्मरण गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत अन्नानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।


