![]()
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ । जसमध्ये टेलिकमले कम्पनीका टेलिफोन आधार ग्राहक झन्डै दुईकरोड रहेको जनाएको छ । त्यसैगरी गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिब ४५ अरब ५६ करोड ५८ लाख रहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले बृद्धि भएको छ । साथै सोही अवधिमा कम्पनीको नाफा करिव १५ अरब ६६ करोड ७५ लाख रहेको छ । यस अनुरुप अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा १.९२ प्रतिशतले बृद्धि भएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तैगरी विगत लामो समय देखि सञ्चालनमा रहेका ल्याण्ड लाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टि डी एम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरण मार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको छ । सो अनुरुप हालसम्म करिव एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ । क्रमिक रुपमा अन्य लाइनहरु पनि रुपान्तरण गर्ने कार्य जारी रहेको टेलिकमले जनाएको छ ।
मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्नको लागि नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी मुलुकका प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नका लागि जम्मा पाँचवटा बोलपत्र आह्वान भइसकेको छ । यस अनुसार पाँचथरको चियो भञ्ज्याङ देखि गोर्खा(धादिङको आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गरिनेछ ।
जीएसएम मोवाइल सेवामा चालु आर्थिक वर्ष २०७५/७६ मा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन बितरण गर्ने लक्ष्य लिइएको छ । प्रमुख शहरहरुमा फोर जी सेवा सञ्चालन आरम्भ भैसकेको छ ।


