Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । उत्तर कोरियाले आफूमाथि लगाइएका प्रतिबन्धहरू हटाउन संयुक्त राज्य अमेरिकासँग माग गरेको छ। नेता किम जङ-अन र राष्ट्रपति डोनल्ड ट्रम्पबीचको शिखर बैठकपछि प्योङयाङले कैयौँ सद्‌भावपूर्ण कदम चालेको भन्दै उत्तर कोरियाले पछिल्लो माग गरेको हो।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भनेको छ, उत्तर कोरियाले पारमाणिक परीक्षण बन्द गरेको, एउटा पारमाणविक परीक्षणकेन्द्र निष्क्रिय पारेको र कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकहरूका शवका अवशेष हस्तान्तरण गरेको छ। प्रतिबन्धहरू फुकुवा गर्नुअघि पूर्ण रूपमा निरस्त्रीकरण गर्नुपर्ने अमेरिकी माग असह्य भएको उत्तर कोरियाले उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले तयार पार्न लगाएको एउटा अध्ययन प्रतिवेदनले राष्ट्रसंघीय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमहरूलाई नरोकेको बताएको तीन दिन नबित्दै प्योङयाङको भनाइ आएको हो।

प्योङयाङले जहाजबाट गैरकानूनी रूपमा पेट्रोलियम पदार्थको ओसारपसारलाई ‘व्यापक रूपमा बढाएको’ र विदेशमा अस्त्र बेच्ने प्रयास पनि गरिरहेको सो प्रतिवेदनले उल्लेख गरेको थियो।

स्वतन्त्र विज्ञहरूको समूहले उक्त गोप्य अध्ययन प्रतिवेदन सुरक्षा परिषद्लाई गत शुक्रवार बुझाएको थियो। गत हप्ता अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प प्रशासनसँगको न्यानो सम्बन्धका बावजुद उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरूको विकास गरिरहेको जस्तो देखिएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.