![]()
बीबीसी । क्यानाडासँगको सम्बन्ध चिसिने क्रम जारी रहँदा साउदी अरेबियाले क्यानाडाको राजधानी ओटावास्थित आफ्ना राजदूतलाई पनि फिर्ता बोलाउन लागेको छ। साउदी अरेबियामा साउदी-अमेरिकी मानवअधिकारकर्मी समार बादवीसहितका नागरिक अधिकारकर्मी पक्राउ परेपछि क्यानडाको परराष्ट्र मन्त्रालयले आफू त्यसबाट “गम्भीर रूपमा चिन्तित भएको” भन्दै साउदी कदमको कडा आलोचना गरेको थियो।
समार बादवीले साउदी राजतन्त्रमा पुरुष राजकुमारहरूको दबदबा अन्त्य हुनुपर्ने माग गरेकी थिइन्। युवराज मोहमद बिन सलमानको नेतृत्वमा एकपछि अर्को प्रगतिशील देखिने कदम चालिरहेको साउदी अरेबियाको पछिल्लो कदमलाई लिएर धेरैले आश्चर्य प्रकट गरिरहेका छन्।
साउदी अरेबियाले क्यानाडाले आफ्नो “आन्तरिक मामिलामा हस्तक्षेप” गरेको आरोप लगाएको छ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत एकपछि अर्को सन्देश लेख्दै साउदी विदेश मन्त्रालयले आफ्नो देशमा रहेका क्यानाडाका राजदूतलाई निकाल्न लागिएको र क्यानाडाबाट आफ्नो दूत फिर्ता बोलाउन लागेको बताएको छ।
साउदी अरेबियाको पछिल्लो कूटनीतिक कदमका विषयमा क्यानाडा सरकारले कुनै सार्वजनिक प्रतिक्रिया दिइसकेको छैन।


