![]()
काठमाडौं । नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । टिमका कप्तान पारस खड्काले त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पहिलो एकदिवसीय क्रिकेट नेपालको लागि ऐतिहासिक भएको बताए ।
उनले आगामी दिनमा नेपालले धेरै खेल्न बाँकी रहेको बताउँदै अझै पनि सोचेअनुसारको खेल खेल्न नसकेको प्रतिक्रिया दिए । “पहिलो ओडीआई ऐतिहासिक भयो,” उनले भने, “आगामी दिनमा नेपालले धेरै म्याच खेल्नेछ । आफ्नो देशको लागि खेल्दा हरेकपल्ट देशलाई जिताउने प्रयास भइरहेको हुन्छ ।तर खेलमा कहिले जित र कहिले हार त अवश्य हुन्छ ।”
उनले अब आफूहरुको ध्यान एसिया कप छनोटमा केन्द्रित हुने पनि बताए ।
“महत्वपूर्ण खेलमा जित हासिल गर्यौं । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा हामी चुक्न पुगेका थियौं । यहि महिनामा एसिया कपको छनोट खेल हुँदैछ । अब हाम्रो ध्यान त्यता केन्द्रित हुनेछ,” कप्तान पारसले भने ।


