![]()
काठमाडौं । यही जुलाई २९ (साउन १३) मा नेपालले लर्ड्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० ट्राइ सिरिज खेल्दैछ भने अगस्ट १ र ३ साउन (१६ र १८) नेदरल्याण्ड्ससँग पहिलो वान डे इन्टरनेशनल (ओडिआई) सिरिज खेल्दैछ।
उक्त दुई सिरिजका लागि कप्तान पारस खड्काको नेतृत्वमा नेपाली टोली लर्ड्स प्रस्थान गर्दैछ। १४ सदस्यी खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो, फिजियो ट्रेनरसहितको टोली नेपालबाट जानेछन् भने हाल अमेरिकामा रहेका खेलाडी भरद भेषावकर उतैबाट लण्डन जानेछन्।
नेपाली टोलीलाई बुधवार युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले पहिलो ओडिआईमा राम्रो खेल्न शुभकामना दिँदै बिदाई गरे।
कप्तान पारस खड्काले २ वर्षपछि लर्ड्समा खेल्ने अवसर पाउनु र नेदरल्याण्ड्ससँग पहिलो पटक ओडिआई सिरिज खेल्न जाँदै गर्दा एकदमै उत्साहित भएको र यो सबै मेहनतको फल रहेको प्रतिक्रिया दिए। पारसले नेदरल्याण्ड्सँगको ओडिआई सिरिज ऐतिहासिक हुने बताउँदै जित्नकै लागि खेल्ने बताए।
विकेटकिपर सुवास खकुरेलले ३ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दा नेपालको ओपनिङ र विकेटकिपङ समेत राम्रो हुने कप्तान र प्रशिक्षकले आशा राखेका छन्।


