![]()
काठमाडौँ । सरकारले नेपाल र चीनबीच हुने सहयोग सम्बन्धी कार्यक्रम र परियोजनाहरुको कार्यन्वयनमा सहजीकरणका लागि संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले दुई देशबीच हुने सहयोगसम्बन्धी कार्यक्रम कार्वान्वयनमा सहजीकरण लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी समझ्दारीपत्रको स्वीकृत गर्ने तथा हस्तान्तरण गर्ने विषयमा स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले लेखापरीक्षण विद्येयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ भने सुचना प्रविधि तथा सार्वजनिक प्रशासन सेवा सम्बन्धी नयाँ विद्येयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको छ । त्यस्तै, बैठकले नेपाल खानेपानी संस्थानको बोर्ड सदस्यहरुको संख्या घटाउने निर्णय समेत गरेको छ । यसअघि संस्थानको बोर्डमा १९ सदस्यीय कार्यसमिति हुने गरेकोमा अब ९ सदस्यीय कार्यसमिति हुने भएको छ ।
त्यस्तै बैठकले उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने शिक्षा विज्ञान, प्रविधि मन्त्रालय र वाणिज्य,आपूर्ति मन्त्रालय अन्तर्गतका राजश्व अनुसन्धान विभागसँग सम्बन्धित संरचना समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।


