![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले संसदमा बजेटको बिरोध नगर्न निर्देशन दिएको भोलिपल्ट बजेटको झन चर्को बिरोध भएको छ । सत्तारुढ दलकै सांसदहरु मन्त्रालयगत बिनियोजनमाथि छलफलकाक्रममा झन आक्रामक भएपछि आइतबारको बैठक प्रभावित भएको छ ।
सांसदहरुको विरोध थेग्न नसकेपछि मन्त्रालयगत छलफलमा सरकारका कुनै मन्त्री नै सहभागी भएनन । आईतबारको प्रतिनिधिसभा बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल थियो ।
बैठक चलिरदा बैठकमा मन्त्रीको उपस्थिति नरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदले नियमापत्ति गरेपछि बैठक अवरुद्ध भएको हो । नियमापत्ति गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकै संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि बैठकमा उपस्थित थिएनन ।
कांग्रेसको नियमापत्तीपछि सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई रुलिङ गरेका छन् । सरकारका मन्त्रीको अनुपस्थितिका कारण आईतबारको बैठक १५ मिनेट स्थगित हुनुपरेको भन्दै सभामुखले प्रतिनिधिसभा संचालन नियमावलीले गरेको व्यवस्था अनुसार बैठकमा उपस्थित हुन सरकारलाई रुलिङ गरेका हुन् ।


