![]()
एजेन्सी,असार ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह‘एफ’ को खेलमा आज जर्मनी र मेक्सिकोबच प्रतिष्पर्धा हुँदैछ । विश्वकप विजेता जर्मनी र मेक्सिकोबीचको खेल मोस्कोस्थित लुज्निकी रंगशालामा हुनेछ । नेपाली समयअनुसार आज बेलुकी पौने ९ बजे दुवै टोलीबीच प्रतिष्पर्धा हुँदैछ ।
४ पटकको विश्वकप विजेता जर्मनी समूह चरणको पहिलो खेलमा जित हात पार्दै सुखद् सुरुवात गर्ने प्रयासमा रहेको छ मेक्सिको जर्मनीलाई रोक्ने रणनीतिमा छ । जर्मनीका उत्कृष्ट खेलाडी भए पनि लय अभाव रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
हेड टु हेड
जर्मनी र मेक्सिकोले अहिलेसम्म ११ पटक प्रतिस्पर्धा गरिसकेका छन् । अहिलेसम्मका खेलमा ६ खेल जर्मनीले जितेको छ भने ४ खेलमा बराबरीमा सकिएको छ । एक खेलमा भने मेक्सिकोले जितेको छ । १९७८, १९८६ र १९९८ को विश्वकपमा जर्मनीले मेक्सिकोलाई पराजित गरेको छ भने सन् १९७१ को मैत्रीपूर्ण खेल र सन् २००५ र २०१७ को फिफा कन्फेरेडेरेशन कपमा मेक्सिकोलाई पराजित गरेको थियो ।
त्यस्तै सन् १९६८, १९७७, १९९२ र १९९३ मा भएका मैत्रीपूर्ण खेलमा जर्मनीलाई मेक्सिकोेले बराबरीमा रोकेको छ । सन् १९८५ मा भएको अर्को खेलमा जर्मनीलाई मेक्सिकोले पहिलोपटक पराजित गरेको थियो ।


