![]()
एजेन्सी,असार ।
विश्वकपको दाबेदार ब्राजिलले आज स्वीट्जरल्याण्डविरुद्धको खेलबाट विश्वकपको यात्रा सुरु गर्दैछ । चार वर्ष घरेलु भूमिमा व्यहोरेको ७–१ को अपमान बिर्सिने रणनीतिका साथ ब्राजिल स्वीट्जरल्याण्डविरुद्ध उत्रिनेछ । जब टिटेले ब्राजिलको प्रशिक्षण सम्हाले, उनले ब्राजिललाई रसियाको यात्रा तय गराउने पहिलो टिम बनाए । टिटेको प्रशिक्षणमा ब्राजिलले राम्रो लय समायो । पाँच पटकको च्याम्पियन ब्राजिलमा युवा खेलाडीको बाहुल्यता रहेको छ । जसमा ६ खेलाडीमा मात्र विश्वकप खेलेको अनुभव छ ।
टिटेको प्रशिक्षणमा ब्राजिलले खेलेको २१ खेलमा एकमा मात्र पराजय भोगेको थियो । ब्राजिलमा नेयमार, फिलिपे काउटिन्हो, विलियन र गाब्रियल जेसस जस्ता विश्वका महंगा खेलाडी आक्रमण पंक्तिमा छन् । स्वीट्जरल्याण्ड पछिल्लो दुई वर्षमा निकै राम्रो फर्ममा छ । सन् २०१६ को सुरुवातमा भएको युरोपियन च्याम्पियनसिपपछि खेलको १७ खेलमा स्वीट्जरल्याण्डले एक हार खेलेको थियो भने दुई बराबरी खेलेको छ ।
यस अर्थमा पनि स्वीट्जरल्याण्डको प्रदर्शन निकै राम्रो रहनेछ । यद्धपी उसले रसियामा छनोट हुनका लागि प्लेअफ खेल्नु परेको थियो । प्लेअफमा उत्तरी आयरल्याण्डलाई हराउँदै स्वीट्जरल्याण्ड विश्वकप खेल्नका लागि योग्य भएको थियो ।
ठूलो टिमलाई हराउनुको स्वाद स्वीट्जरल्याण्डलाई राम्रोसँग थाहा छ, जसले सन् २०१० को च्याम्पियन स्पेनलाई पहिलो खेलमा नै हराएको थियो ।
–विश्वकपको २० संस्करणमा सहभागिता जनाएको ब्राजिलले तीनबाहेक सबै संस्करण जितका साथ सुरु गरेको छ । उसले दुईवटा संस्करणमा बराबरी र एक संस्करणमा हारबाट विश्वकप सुरु गरेको थियो ।
–युरोपेली छनोट प्रतियोगितामा स्वीट्जरल्याण्डले एउटा खेलमा मात्र पराजय भागेको थियो, जुन पराजय उसलाई पोर्चुगलले दिएको थियो ।
–अघिल्लो संस्करणमा ह्याट्रिक गरेका जेर्दन शाकिरीले स्वीट्जरल्याण्डको पछिल्लो ६ मा चार गोल र एक एसिस्ट गरेका छन् ।
–ब्राजिल र स्वीट्रल्याण्ड यसअघि आठ पटक आमने सामने भएका छन् । जसमा ब्राजिलले ३ खेल जितेको छ भने दुई खेलमा स्वीट्जरल्याण्ड विजयी भएको छ । बाँकी ३ खेल बराबरीमा सकिएको थियो ।
–सन् १९५० को विश्वकपमा ब्राजिल र स्वीट्जरल्याण्डले २–२ गोलको नतिजा निकालेका थिए ।
प्लेयर्स टु वाच
नेयमार–ब्राजिल
विश्वका सबैभन्दा महँगा खेलाडी नेयमार स्वीट्जरल्याण्डविरुद्धको खेलमा सबैको आकर्षणको पात्र हुनेछन् । पेरिस सेन्ट जर्मेइनबाट खेल्दा खुट्टा भाचिँएको कारण लामो समय आराम गरेको नेयमारको प्रदर्शन क्रोएसिया र अष्ट्रियाविरुद्धको मैत्रिपूर्णमा देखिएपनि उनको पूर्ण शक्ति स्वीट्जरल्याण्डसँगको खेलमा देख्न सकिनेछ ।
ब्राजिलका लागि ८५ खेलमा ५५ गोल गरिसकेका नेयरमाले पेलेको ७७ गोलको कीर्तिमान भंग गर्न सक्ने लक्षण देखाइसकेका छन् । उनले यही गतिमा गोलको संख्या बढाउँदै गएको खण्डमा दुई वर्षभित्रमा पेलेको रेकर्डसमेत तोड्नेछन् । ठूलो आशा गरिएका खेलाडी नेयमार टिमका मुख्य गोल मेसिन हुन् ।


