![]()
एजेन्सी । बजारमा केही कम्पनीको ‘फोरके’ रेजोलुसनको पिक्चर क्वालिटीमा टीभी पाइन्छ। यस्ता टीभीको मूल्य नै २ लाखभन्दा बढी छ तर यिनको पिक्चर क्वालिटी क्षमतालाई भने नेपालमा प्रयोग भएको सिग्नलले सपोर्ट गर्दैन।
हाल घरघरमा प्रयोगमा रहेको एनालग प्रविधिलाई डिजिटल प्रविधिले विस्थापित गर्दै लैजाने सरकारले तयारी गरिरहँदा पनि फोरके टीभीको पिक्चर क्वालिटी यसले प्रदान गर्दैन।
सेट टप बक्स मार्फत ‘डिजिटलाइज्ड’ गरिएपछि केबल प्रदायक कम्पनीहरुले ‘१०८० पी’ वा ‘१०८० आई’ रेजोलुसनको पिक्चर क्वालिटी सहितको सिग्नल प्रदान गर्छन् जसमा १,९२०×१,०८० होरिजन्टल तथा भर्टिकल पिक्सेल रहन्छ। तर फोरके पछिल्लो प्रविधि हो। यसमा ४,०९६ को ‘होरिजन्टल पिक्सेल’ रहेको हुन्छ।
नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीका अनुसार फोरके टीभीका लागि चाहिने फ्रिक्वेन्सी डाउनलोडिङ तथा इकोडर/डिकोडर प्रविधि नेपालमा उपलब्ध छैन। यसकारण फोरके सपोर्ट गर्ने टीभी भएपनि वास्तविक फोरके टीभीको डिस्प्लेले प्रदान गर्ने ४,०९६ को ‘होरिजन्टल पिक्सेल’ पिक्चर क्वालिटी उपलब्ध हुन सक्दैन।
उनले भने, ‘हाल हामीसँग भएको सिग्नलले १०८० पी वा एचडी टीभीसम्मलाई सपोर्ट गर्छ, एचडी टीभीको पिक्चर क्वालिटी जति हुन्छ त्यति नै हाम्रो सिग्नल प्रसारणले भ्याउँछ त्यसैले ‘टुके’, ‘फोरके’ टिभीको वास्तविक पिक्चर क्वालिटी प्रदान गर्न सक्ने अवस्था हाम्रोमा छैन।’
‘तपाईले धेरै पैसा खर्चेर राम्रो गुणस्तरको भनेर टीभी किने पनि प्रविधिले साथ दिँदैन, त्यसैले प्रविधिले सपोर्ट गर्नेसम्मको टीभी मात्रै किन्दा राम्रो हुन्छ’ पराजुलीले सुझाए।


