![]()
काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्पष्ट बहुमत प्राप्त सरकारले दुई तिहाईको समर्थन जुटाउनु र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा अघि सार्नुले गम्भीर आशंका उत्पन्न गरेको बताएका छन् ।
लोकतन्त्रवादी नेतृ शैलजा आचार्यको स्मृति दिवसका अवसरमा काठमाडौंमा शैलजा आचार्य आदर्श समाजले गरेको विचारसभामा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारका पछिल्ला प्रयासहरु मुलुकका लागि उचित नभएको बताए ।
नेता पौडेलले भने, ‘एउटा कम्फर्टेबल मेजरिटी पाएको पार्टी छ र सरकार चलाउन उसलाई कसैको बाधा छैन र कसैसँग सम्झौता गर्नु पर्ने आवश्यकता छैन । तर त्यस्तो हुँदाहुँदै पनि आवश्यकताभन्दा बढी मत जुटाउने कसरत सामान्य सरकार सञ्चालनका लागि होइन । यसका पछाडि उनीहरुको ठूलो महत्वकांक्षा छ ।’
बहुमतको खेलमा संविधानलाई चलाउने काम भए मुलुकमा फेरी अस्थिरता उत्पन्न हुन सक्ने पौडेलले बताए । सत्तारुढ दलले कांग्रेसलाई घेराबन्दीमा पार्ने खेल खेलिरहेको भन्दै उनले कांग्रेस समयमै सचेत हुनपर्नेमा जोड दिए । नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले सवै कांग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको समेत बताए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले कांग्रेस अहिले इतिहासमै अत्यन्तै कमजोर अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरे । नेता कोइरालाले नेतृ शैलैजा आचार्यसँग विताएका क्षणहरुको स्मरण गर्दै मुलकमा लोकतन्त्र स्थापनाका लागि उनको योगदानलाई कांग्रेसले बिर्सन नहुने धारणा राखे ।


