![]()
काठमाडौ,१२ असार ।
मतदान केन्द्रमा मतदाता परिचयपत्र लिन जान नभ्याउनेका लागि निर्वाचन आयोगले विशेष व्यवस्था गरेको छ । हिँडडुल गर्न नसक्ने बृद्धबृद्धा, सुत्केरी, अपांगता भएका व्यक्तिसँगै काम विशेषले जान नभ्याउनेको परिचय पत्र एकै घरका व्यक्तिले लिन सक्नेछन् ।
घरका कुनै एकजनाले मतदान केन्द्रमा गएर परिवारका सबै मतदाताको परिचयपत्र लिन सक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । तर यसका लागि सम्बन्धित मतदाता उसको परिवारको सदस्य हो भनेर यकिन हुनुपर्ने छ ।
मतदान केन्द्रमा स्थानीय राजनीतिक दलका प्रतिनिधि समेत हुने भएकाले निर्वाचन अधिकृत र कर्मचारीले नचिनेपनि दलका प्रतिनिधिले यकिन गरेमा घरका कुनै एकजनाले परिवारका सबै मतदाताको परिचयपत्र बुझ्न सक्ने शर्माले बताउनुभयो । साथमा सम्बन्धित मतदाताको नागरिकता या परिचय खुल्ने कुनै प्रमाण लिएर जाँदा सजिलो हुने उहाँको भनाई छ ।
तर मतदान केन्द्रबाट भोट हाल्ने तरीका पनि सिकाइने भएकाले सकभर सबै मतदातालाई स्वयं उपस्थित हुन आयोगले आग्रह गरेको छ ।


