![]()
काठमाडौं । दोस्रो चरणको निर्वाचन हुनेमध्येको सबैभन्दा धेरै स्थानीय तह रहेको प्रदेश नम्बर एकमा उमेदवारले आफ्नो मनोनयन दर्ता सुरु गरेका छन् । प्रदेश नं. १ मा सक्रिय दलहरुका तर्फबाट उमेदवारी दर्ता सुरु भएसँगै दलहरुले आफ्नो प्रतिस्पर्धी पहिल्याउँदै सोहीअनुसार तयारी समेत गरिरहेका छन् ।
यसैबीच, दलहरुले आफ्नो स्थानीय उपस्थिति हेरेर अन्य दलसँग तालमेल तथा एकल उमेदवारी दिँदैछन् । १४ जिल्ला रहेको प्रदेश नम्बर १ मा १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका गरी १३७ स्थानीय तह रहेका छन् ।
प्रदेश नं. १ का अधिकांश ठाउँमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । त्यसैगरी माओवादीले पनि आफ्नो उपस्थिति बलियो हुने दाबी गर्छ ।
यता राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलले पनि यो चुनावमा आफ्नो प्रभाव क्षेत्रहरुमा विजयी हुने दाबी गरिरहेका छन् ।
यद्यपि, नेपाली कांग्रेस बलियो मानिएको प्रदेश नं. १ को एकमात्र महानगरपालिकामा एमाले र फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेल हुने भएको छ ।
कांग्रेसको तालमेल माओवादीसँग
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेश १ का अधिकांश स्थानीय तहमा तालमेल गरेको छ । पार्टीको स्थानीय अवस्था हेरेर केही स्थानमा तालमेल गरिएको कांग्रेसले जानकारी दिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका अनुसार कांग्रेसले धनकुटामा राप्रपासँग एक स्थानीय तहमा तालमेल गर्न लागेको जानकारी दिए ।
“कांग्रेस खासै तालमेलको पक्षमा छैन । एक्लै चुनाव लड्न सक्षम छ,” उनले भने, “केही ठाउँमा स्थानीय आवश्यकता हेरेर चुनाव जित सुनिश्चित गर्न तालमेल हुनसक्छ । अहिले नै सबै ठाउँको जानकारी आइसकेको छैन ।”
७५ प्रतिशत स्थानीय तह जित्ने एमालेको दाबी
एमालेले प्रदेश नम्बर १ मा करिब ७५ प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने दाबी गरेको छ ।
एमाले प्रदेश एकका इन्चार्ज भीमप्रसाद आचार्यले प्रदेश नं. १ मा एमाले पहिलो पार्टीमात्रै नभई दुई तिहाईभन्दा बढी स्थानमा जित्ने दाबी गरे ।
“जनता नै हामीसँग छन् । एमालेको जित्ने आधार त्यही हो,” उनले भने । आचार्यका अनुसार एमालेले विराटनगरमा विजय कुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग तालमेल गरेको छ ।
विराटनगरमा जित सुनिश्चित गर्न तालमेल गरेको उनले जानकारी दिए । त्यसैगरी, पाँचथरको तुमदेवा गाउँपालिकासँग माओवादी केन्द्रसँग तालमेल गरी एमालेले उपाध्यक्षमा उमेदवारी दिएको छ ।
अन्य स्थानीय तहमा एमालेले अहिलेसम्म एकल उमेदवारीको तयारी गरेको उनले जानकारी दिए । “स्थानीय स्तरमा वडासम्म तालमेल हुन सक्छ । त्यो जानकारी आइसकेको छैन,” उनले भने ।
३५ देखि ४० ठाउँ जित्छौं : माओवादी केन्द्र
संसदको प्रतिनिधित्वका आधारमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १ नम्बर प्रदेशका १३७ स्थानीय तहमध्ये ३५ देखि ४० स्थानमा जित्ने दाबी गरेको छ ।
माओवादी सांसद श्रीप्रसाद जवेगुका अनुसार अधिकांश स्थानमा माओवादी प्रतिस्पर्धामा रहेको जानकारी दिए । माओवादीले विराटनगर महानगरमा संघीय समाजवादी फोरमसँग तालमेल गर्दै फोरमको मेयरलाई सहयोग गर्ने भएको छ ।
उनले माओवादीले तेह्रथुममा जिल्लाका ६ स्थानीय तहमध्ये एक नगरपालिका र एक गाउँपालिकामा माओवादी, १ नगर र ३ गाउँपालिकामा कांग्रेसको प्रमुख रहने गरी तालमेल गरिने भएको छ ।
त्यसैगरी पाँचथरको तुमवेवा गाउँपालिका एमाले उपाध्यक्ष दिएर माओवादी केन्द्रले अध्यक्ष लिने भएको छ । त्यसैगरी कुमयायक गाउँपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल गरेको सांसद जवेगुले जानकारी दिए ।
यता फोरम लोकतान्त्रिकको मोरङ र सुनसरीमा राम्रो उपस्थिति रहेको बताइएको छ भने संघीय समाजवादी फोरमको पनि उत्तरका केही जिल्ला तथा मोरङ र सुनसरीमा केही स्थानीय तह जित्न सक्ने सम्भावना छ ।
त्यस्तै राप्रपाको इमाल, झापा र सूर्यबहादुर थापाको जन्मथलो धनकुटामा केही सिट जित्नसक्ने आँकलन गरिएको छ ।
१३७ स्थानीय तह रहेको प्रदेश नं. १ मा ३ हजार ४५९ मतदान केन्द्र रहेका छन् भने २६ लाख ७४ हजार ५६३ मतदाता रहेका छन् ।


