Breaking News.... EverestOnlineKhabar
April 29, 2026

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने राजनीतिक प्रतिवद्धता

Loading

 प्रमुख राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन घोषणापत्रमा बाल संरक्षणका विषय समावेश गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षण पैरवी अभियानले बुधबार राजधानीमा आयोजना गरेको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षणका लागि राजनीतिक संवाद विषयक कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलका नेताहरुले बालबालिकालाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन् ।

अभियानका तर्फबाट कृष्ण सुवेदी र युवराज घिमिरेले नेतालाई १९ बुँदे सुझावपत्र हस्तान्तरण गरेका थिए ।

नेकपा एमाले का सचिव प्रदीप ज्ञवालीले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने भन्दै पार्टीले बालअधिकारको संरक्षण र अधिकारका कुरालाई स्थानीय सरकारमा प्राथमिकतामा राख्ने बताए ।

उनले स्थानीय तहले नै बालबालिकाको अधिकारलाई सुनिश्चित बनाउने बताउँदै बालबालिकाको विकासमा सहयोग पुर्‍याउने कुरा घोषणापत्रमा राख्ने धारणा राखे ।

नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले पार्टीले १६ वर्षमुनिकालाई सदस्य नबनाउने भन्दै त्यसपछि मात्र प्रयोग गर्ने बताए ।

उनले आफ्नो पार्टी बालबालिकाका अधिकारप्रति गम्भीर भएकाले निर्वाचनमा बालबालिकाका मुद्दालाई प्रथामिकतामा राख्ने बताए ।

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले विगतमा पार्टीले बालबालिका निर्वाचनमा प्रयोग गरे पनि अबदेखिको निर्वाचनमा पार्टीले बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा मालेका महासचिव सिपी मैनालीले बाल संरक्षणका लागि अब बन्ने स्थानीय सरकारले सही अर्थमा काम गर्नसक्ने बताए ।

राप्रपा प्रवक्ता रोशन कार्कीले सबै पार्टीले निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गर्नुपर्ने भन्दै आफ्नो पार्टीले पनि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गरिन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed