![]()
काठमाडौं । सरकारले लापरबाहीका कारण बिरामीको मृत्यु भएमा डाक्टरलाई कारबाही गर्ने गरी ऐन ल्याउने तयारी गरेपछि नेपाल चिकित्सक संघले त्यसको विरोध गरेको छ ।
संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा उपचारको क्रममा लापरबाही ठहरिएमा क्षतिपूर्ति भराइदिने व्यवस्था भए पनि सरकारले ऐनको भावना विपरीत चिकित्सकको मानमर्दन गर्न खोजेको आरोप लगाएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उपचारमा चिकित्सकको लापरवाही देखिए स्वयं चिकित्सकबाटै क्षतिपूर्ति भराउने सम्बन्धी विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको थियो । संघले बिज्ञप्ती जारी गर्दै निर्णयको भत्र्सना गरेको छ ।
संघले यो निर्णयलाई ७२ घण्टाभित्र फिर्ता नलिए नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । संघले आन्दोलनको लागि तयारी अवस्थामा बस्न देशभरका चिकित्सक स्वास्थ्यकर्मीहरु, संघका शाखा कार्यालयहरुलाई आग्रह समेत गरेको छ ।


