![]()
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा ढुक्क भएर आनन्दपूर्वक मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।
काठमाडौंमा शनिवार आयोजित साक्षात्कारमा बोल्दै गृहमन्त्री शर्माले अशोज २ गते प्रदेश नम्बर २ मा हुन गैरहेको निर्वाचन शान्तिपूर्ण हुने बताउनुभयो । निर्वाचनमा कुनै तनाव नहोस भनेर गृह मन्त्रालयले सुरक्षाको सबै प्रबन्ध मिलाएको उहाँले जानकारी दिनुभयो ।
गृहमन्त्री शर्माले अत्यावश्यकीय ठाउँमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको र मतदाताहरु मत दिन आतुर भएको उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले सरकारको तर्फबाट निर्वाचन आचारसंहिताको उल्लंघन नभएको बताउँदै कसैले गरेको भए निर्वाचन आयोगले कारबाही गर्नसक्ने स्पष्ट पार्नुभयो ।
निरन्तर निर्वाचन गर्दा राज्यलाई खर्चको ठूलो भार पर्नसक्ने भन्दै गृहमन्त्री शर्माले सरकार, राजनीतिक दल सबैले खर्चमा मितव्ययीता अपनाउनु आवश्यक रहेको धारणा राख्नुभयो ।


