![]()
बिबिसि । अमेरिकाका बैज्ञानिकहरुले जीका भाइरस मष्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने पत्ता लगाएका छन । अनुसन्धानकर्ताहरुले भ्रुणको मस्तिष्कमा आक्रमण गरेर माइक्रोसेफालीग्रस्त शिशु बनाइदिने जीका भाइरस मान्छेहरुमा हुने मस्तिष्क क्यान्सरको उपचारका लागि प्रयोग हुने बताएका हुन ।
अहिलेसम्म जीकालाई विश्वव्यापी स्वास्थ्य खतराका रुपमा मात्र हेर्ने गरिएको छ । पछिल्लो अनुसन्धानबाट जीका भाइरसले जवान मानिसहरुमा हुने मस्तिष्कको क्यान्सर उपचार गर्न सकिने देखाएको छ ।
मस्तिष्कको ’ग्लीओब्लास्टोमा’ क्यान्सर हुँदा तीब्र गतिमा बढ्ने ट्युमर केमोथेरापी र रेडियोथेरापीप्रति प्रतिरोधी भएकाले उपचार गर्न निकै मुस्किल रहँदै आएको छ ।
मुसाहरुमा गरिएको प्रारम्भिक अध्ययनमा जीका भाइरसले ब्रेन क्यान्सर स्टेम सेललाई निशाना बनाएको छ जसले ट्युमर पुनः पलाउनबाट रोक्छ । अहिलेसम्म मानिसहरुमा यो परीक्षण गरिएको छैन ।
जीका भाइरस मस्तिष्कमा जहाँ आवश्यक छ त्यहाँ नै राखिदिनुपर्ने बैज्ञानिकहरुको भनाइ छ । प्रयोगशालामा मानव कोषमाथि गरिएको परीक्षणमा जीका उपचार प्रभावकारी पाइएको बताइएको छ । त्यसले जवान मानिसको स्वस्थ्य मस्तिष्क कोषलाई आक्रमण नगरेको बताइएको छ । वाशिङटन युनिभर्सिटि स्कूल अफ मेडिसिन र युनिभसिर्टि अफ क्यालिफोर्निया स्यान डियागो स्कूल अफ मेडिसिन सम्बद्ध समूहले अतिरिक्त सावधानीका लागि जीका भाइरसमा केही परिवर्तन गरेर अहिलेको जीका भन्दा कम आक्रामक बनाउने उपाय खोजिरहेको बताएका छन् । उक्त समूहका एक अनुसन्धानकर्ता डा. माइकल डायमण्डले भने, “जीका उपचार पद्धतिलाई अठार महिना जतिमा मानिसमा परीक्षण गर्न सकिएला । ’
भाइरसको प्रयोगले क्यान्सर उपचार गर्ने भन्ने नयाँ विचार हो ।
क्याम्ब्रिज युनिभर्सिटि यूकेका वैज्ञानिकहरुले पनि जीकाबारे उस्तै परीक्षण शुरु गर्न लागेको बताएका छन् । क्यान्सर रिसर्च यूकेकी डा. क्याथरिन पीकवर्थले भनिन, ‘यो पद्धतिले उपचार गर्न कठिन क्यान्सरको नयाँ उपचारको उपाय थपिन सक्छ । ’


