![]()
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमारनाथ शाहको बुधवार निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको नर्भिक अस्पतालमा निधन भएको हो ।
शाहलाई उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो । नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका शाहले विसं २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गरेका थिए । उनले लगातार करिब चार दशकसम्म संघको नेतृत्व गरेका थिए ।
नेपाल क्रिकेट संघले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको भन्दै दुःख प्रकट गरेको छ । भदौ ६ गते काठमाडौँमा सम्पन्न क्यानको विशेष साधारणसभामा शाहलाई युवा तथा खेलकुद मन्त्री राजन केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शाहलाई सन् २००३ मा लाइफ टाइम सर्भिस अवार्डबाट सम्मान गरेको थियो । यो पुरस्कार पाउने शाह पहिलो नेपाली हुन् ।


