![]()
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले अशोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।
प्रदेश नं २ का सबै १ सय ३६ तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएपनि नाम भने शुक्रवार मात्रै सार्वजनिक गरिने भएको छ ।
निर्वाचनको तयारीका लागि पार्टीले आठ जिल्लाका सबै तहमा प्रचारसमिति गठन गर्नुकासाथै सबै जिल्लामा सञ्चार केन्द्र स्थापना गरेको छ । जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र निर्वाचनमा सबै भातृ एवं शुभेच्छुक संस्थालाई परिचालन गरिएको पनि पार्टीले जनाएको छ ।
पार्टीले प्रचारप्रसारका लागि घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण गरिएको छ ।
प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कूल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछन ।


