![]()
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको अवस्थामा सुधार नआएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैले स्थलगत निरीक्षण गरी दु्रत गतिमा काम अघि बढाइ सडकको अवस्थामा सुधार ल्याउन निर्देशन दिनुभएको थियो । उहाँले दशैंको समयमा सर्वसाधारणले निर्वाधरुपमा आवतजावत गर्न सक्ने गरी सडकको गुणस्तर सुधार्न निर्देशन दिए अनुसार काम पनि भैरहेको थियो । तर, प्राकृतिक प्रकोप भन्नेकुरा प्रधानमन्त्रीको निर्देशनले रोकिने विषय भएन । दशैं आउन करिब तीन हप्ता बाँकी रहेकाबेला सडकको गुणस्तर सुध्रिनु त परै जाओस झन पहिरो आएर केही ठाउँको सडक नै बगेर त्रिशुलीमा पुगेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार मुग्लिन सडकखण्डका करिब पाँच ठाउँमा करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएको छ । सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । भित्तो काटिएको ठाउँमै सडक पुनः भासिन थालेपछि समस्या आएको हो ।
जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक÷एक स्थानमा पहिरो खसेको आयोजनाले जनाएको छ ।
पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए । एकातर्फ सडकको अवस्थाका कारण यात्रु चिन्तित छन भने अर्कोतर्फ नजिकिदो दशैंकाबेला घर जाने पाइने हो वा नपाइने भन्ने चिन्ता पनि बढेको छ ।


