![]()
वीरगञ्ज,१२ भदौ ।
नेकपा एमालले स्थानीय चुनावका लागि दुई नम्बर प्रदेशका एक सय १६ स्थानीय तहमा मेयर वा अध्यक्षका उम्मेदवार छानेको छ। २ नम्बर प्रदेशका एक सय ३६ मध्ये अब २० वटा स्थानीय तहका मेयर वा अध्यक्षबारे निर्णय गर्न बाँकी रहेको एमाले दुई नम्बर प्रदेश कमिटीका सह–संयोजक नागेन्द्र चौधरीले जनाए ।
उनले भनेः‘एक सय ३६मध्ये एक सय १६का प्रमुख वा अध्यक्षबारे प्रदेश समितिले निर्णय गरिसकेको छ, अब २० वटाको बाँकी छ।’ २० वटामध्ये केही स्थानका उम्मेदवार प्रदेश समितिले नै निर्णय गर्ने जनाइएको छ । नगरपालिका र गाउँपालिकाका प्रमुख वा अध्यक्षको उम्मेदवारबारे प्रदेश समितिले निर्णय गर्ने र महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे स्थायी समितिले निर्णय गर्ने कार्यविधि बनाएको छ।
स्थायी समितिले निर्णय गरेपछि एक साथ एक सय ३६ स्थानीय तहका उम्मेदवारको नाम सार्वजनिक गरिने चौधरीले बताए। १५ गते स्थायी समिति बैठक बस्ने तयारी भइरहेकाले सम्भव भएसम्म १५ गते नै यी सबै नाम सार्वजनिक गरिने उनले बताए। दुई नम्बर प्रदेशमा एक महानगर र तीन उपमहानगरपालिका छन्। यी सबै स्थानका मेयरबारे स्थायी समितिले निर्णय गर्नुपर्ने छ। यसबाहेक प्रदेश कमिटीले टुंगो लगाउन नसकेका नगरपालिका वा गाउँपालिकाका स्थानीय तहका उम्मेदवारबारे पनि स्थायी समितिले नै निर्णय गर्ने छ।
दुई नम्बर प्रदेशको एक्लो महानगर वीरगञ्जमा बसरूद्धिन अन्सारी उम्मेदवार बन्ने निश्चित भइसकेको छ।


