![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणकाक्रममा संविधान संशोधनको प्रतिबद्धता जनाएकोमा गम्भीर आपत्ती जनाउनु भएको छ ।
एभरेष्ट अनलाइन खबरसंग कुरा गर्दै नेता खनालले व्यवस्थापिका संसद्मा असफल भएको संविधान संशोधनको प्रस्तावलाई फेरि व्युँताउँछु भनेर बिदेशी सामु प्रतिबद्धता गर्ने प्रधानमन्त्री नेपाली हुन नसक्ने भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन सम्बन्धि जे प्रतिबद्धता गर्नुपर्ने हो, त्यो नेपालीसमक्ष गर्नुपर्छ, विदेशी सामु होइन, यदि कसैले बिदेशी सामु संविधान संशोधनको प्रतिबद्धता जनाउँछ भने त्यो नेपाली नै होइन , त्यो बिदेशीको ईशारामा चल्ने प्रधानमन्त्री हो ।’
प्रधानमन्त्री देउवाले भारत भ्रमणकाक्रमम बोलेका र गरेका सम्झौताले मुलुकको राष्ट्रियतामा गम्भीर प्रश्न खडा भएको खनालले बताउनुभयो । नेपाली जनता र व्यवस्थापिका संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने उहाँले बताउनुभयो ।
नेता खनालले अशोज २ गते प्रदेश नम्बर २ मा हुन गैरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि एमाले तयार भैसकेको जानकारी दिनुभयो । उहाँले एमालेलाइ मधेशबाट बढार्नु पर्छ भन्ने शक्ति आफै बढारिने चेतावनी दिंदै प्रदेश नम्बर २ मा पनि एमाले पहिलो पार्टी हुने दावी गर्नुभयो ।


